शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

डोटी कांग्रेसमा टिकटको किचलो, कसको के दाउ?

डोटीमा वर्षौंदेखि पार्टी संगठन र कांग्रेसको राजनीतिमा रहेका पुराना अनुहार दोहोरिए आउँदो निर्वाचनमा स्वतन्त्र उठ्ने चेतावनी केही नेताको छ।
 |  बुधबार, भदौ १५, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

बुधबार, भदौ १५, २०७९

काठमाडौं- आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको टिकट वितरणलाई लिएर नेपाली कांग्रेस डोटीमा मतभेद देखिएको छ। यसअघिको संघीय चुनावमा टिकट दिइएका व्यक्तिलाई नै आउँदो निर्वाचनमा पनि अगाडि सारिए पार्टीभित्रै विद्रोह गर्ने चेतावनी कांग्रेसको एक समूहले दिएको छ।

triton college

यो समूह गठबन्धनको समेत विपक्षमा रहेको छ। स्थानीय तह निर्वाचनमा डोटीका नौ वटा स्थानीय तहमध्ये कांग्रेस सात, नेकपा एमाले एक र नेकपा माओवादी केन्द्र एक स्थानीय तहमा निर्वाचित भएका छन्। कांग्रेसले स्थानीय तहको मत परिणामको आधारमा डोटीमा प्रदेश र संघमा एक्लै निर्वाचन जित्न सक्ने हुँदा गठबन्धन हुनै नहुने र भए पनि पटक-पटक अवसर पाइसकेकालाई टिकट दिन नहुने पक्षमा सो समूह छ।

कांग्रेस डोटीका क्षेत्रीय प्रतिनिधि एवं नेपाल उद्योग वाणिज्य संघ डोटीका पूर्वअध्यक्ष नरेन्द्र खड्का डोटीमा अब फरक व्यक्तिलाई टिकट दिनुपर्ने बताउँछन्। 'एउटै मान्छेले चार-चार पटक अवसर पाउँदा २० वर्षसम्म उसैको हातमा नेतृत्व हुन्छ। काम केही पनि नगर्ने र पदमात्रै ओगट्ने प्रवृत्तिले कांग्रेस कमजोर हुने हुँदा नयाँलाई अवसर दिनुपर्छ,' उनी भन्छन्। डोटीबाट राजधानी सार्दा ६४ दिनसम्म आन्दोलन गर्दा पनि जनताको पक्षमा नबोल्ने नेतालाई नपत्याउने चेतावनी उनले दिए। आश्वासनमात्रै दिने व्यक्तिले आगामी चुनावमा जिते पनि जनताका पक्षमा काम नगर्ने उनको दाबी छ।

सधैँ एउटै व्यक्तिलाई अवसर दिँदा पार्टीमा योगदान पुर्‍याउने अन्य व्यक्तिले अवसर नपाउने र उनीहरूमा कांग्रेसप्रति वितृष्णा पैदा हुने खड्काको बुझाइ छ। 'हामीले सबै बहादुरलाई चिनिसक्यौं। ३० वर्षदेखि उनीहरूको मुखबाट विकासकै रटान सुनिरहेका छौं। तर, कुरा बाहेक काम हुने कहिले होइन। खप्तडको विकास भनेका छन्। जनतालई झुटा सपना बाँडेका छन्,' उनी भन्छन्। पुरानै अनुहारलाई टिकट दिए पार्टीभित्र विद्रोह गर्ने र स्वतन्त्र उम्मेदवारी दिएर मैदानमा उत्रिने उनको चेतावनी छ। त्यसपछि पार्टीले गर्ने कारबाहीका लागि आफूहरू तयार रहेको खड्काले बताए।

डोटीमा वर्षौंदेखि पार्टी संगठन र कांग्रेसको राजनीतिमा रहेका पुराना अनुहार दोहोरिए आउँदो निर्वाचनमा स्वतन्त्र उठ्ने चेतावनी केही नेताको छ।

विद्यार्थी नेता तथा डोटी-काठमाडौं सम्पर्क समितिका निवर्तमान उपाध्यक्ष लोकेन्द्र भण्डारी पनि यस पटक डोटीमा पार्टीले नयाँ अनुहारलाई स्थान दिनुपर्ने बताउँछन्। 'पार्टीभित्र पुराना अनुहारलाई टिकट दिनु हुँदैन भनेर हामी लागेका छौं। यो हाम्रो जोडदार माग पनि हो। प्रदेश राजधानी डोटीमा हुनुपर्छ भनेर हामी आन्दोलित हुँदा पूर्वसांसद र मन्त्रीहरू सुतेको अवस्था थियो। त्यसैले हामी उहाँहरूको पक्षमा छैनौं,' उनले भने। कार्यकर्ता र जनतामा पुराना नेताहरूप्रति आक्रोश रहेको उनी बताउँछन्।

Metro Mart
vianet

डोटीमा गठबन्धन हुन पनि त्यति सहज छैन। नौ पालिकामध्ये सात पालिका जितेको कांग्रेसले आफ्नो जनाधार बलियो रहेको दाबी गर्दै आएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको निर्वाचन क्षेत्र त्यही हो। नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री प्रेम आलेको निर्वाचन क्षेत्र पनि त्यही हो। कांग्रेस सुदूरपश्चिम सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरको निर्वाचन पनि त्यही हो। सोही कारण एक निर्वाचन क्षेत्र रहेको डोटीमा गठबन्धन निकै जटिल देखिन्छ।

कांग्रेसबाट डोटीमा कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति बलायर, संविधानसभा सदस्य भरतबहादुर खड्का, महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाही, नेता यज्ञराज पाठक, भक्तबहादुर बलायरलगायत पनि चुनावी चर्चामा छन्।

पार्टीमा कसको योगदान के?

वीरबहादुर बलायर
बलायर कांग्रेस डोटीका पुराना नेता हुन्। त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थी राजनीतिमा आएसँगै उनी चर्चामा आएका हुन्। पञ्चायतकालमा ‘पञ्चायत’ भन्ने विषयको जाँचमा सोधिएका प्रश्नको पञ्चायत विरोधी उत्तर दिँदा उनलाई शिक्षकले स्पष्टीकरण सोधेका थिए। डोटीको सीताराम उच्च माध्यमिक विद्यालयबाट २०३३ सालबाट बलायरको राजनीति यात्रा सुरु भएको हो। सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरमा उनी स्ववियु सदस्य थिए। 

महेन्द्रनगरबाट आइएससी गरेर उच्च शिक्षा हासिल गर्न २०३६ सालतिर काठमाडौं आएपछि बलायरले राजनीतिक उचाइ लिन थाले। चार वर्ष बन्दी जीवन बिताएका बलायरले २०४६ सालको जनआन्दोलनमा थप चर्चा कमाए। त्यसपछि उनी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नेविसंघ अध्यक्ष भए। त्रिवि नेविसंघ अध्यक्ष हुँदा २०४९ सालमा त्रिविमा स्ववियु सभापति पदमा लडे पनि पराजित भए। 

विद्यार्थी राजनीतिपछि उनले गृहजिल्ला डोटीमा कांग्रेसको राजनीति अगाडि बढाए। उनी कांग्रेस डोटीका पूर्व सभापतिसमेत हुन्। २०६४ सालमा संसदीय राजनीतिको यात्रा थालेका बलायरले चुनाव जित्न सकेनन्। २०७० को संविधानसभा निर्वाचनमा भने उनी डोटीको तत्कालीन क्षेत्र नम्बर १ बाट निर्वाचित भए। त्यसपछि उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्रीसमेत बने।  

कांग्रेसको १३औं महाधिवेशनमा केन्द्रीय सदस्य जितेका बलायरले पार्टीको निर्माण व्यवसायी समन्वय विभागका प्रमुखसमेत रहेर काम गरेका छन्। हाल उनी कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिको जिम्मेवारीमा छन्।

यज्ञराज पाठक
पाठक पनि कांग्रेसका पुराना नेता हुन्। उनी पार्टीमा त्यागी नेताको रुपमा चिनिन्छन्। सक्रिय राजनीतिमा आबद्ध पाठक ६० वर्ष उमेर कट्दा पनि अविवाहित छन्। सादगी नेताका रूपमा छवि बनाएका पूर्वसांसद पाठक कांग्रेसको १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा डोटीबाट निर्वाचित भएका थिए। डोटी जिल्ला सभापति भएर काम गरिसकेका उनी नि:स्वार्थ राजनीति गर्ने संस्कारी नेताका रूपमा पनि परिचित छन्।

पार्टी सभापति देउवाका आलोचक गर्ने पाठक पार्टीभित्र पछाडि पारिएका नेताका हुन्। सोही कारण उनले कांग्रेसमा उचित स्थान पाउन नसकेको पार्टीभित्र चर्चा हुने गरेको छ।

आनन्द विष्ट
कांग्रेस डोटीको राजनीतिमा विष्ट प्रभावशाली मानिन्छन्। कांग्रेसका पूर्व केन्द्रीय सदस्यसमेत रहेका विष्ट नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्षसमेत हुन्। उनको नेपालमा मात्रै नभएर अमेरिकालगायत विदेशी मुलुकसँग पनि राम्रो सम्बन्ध छ।

विद्यार्थी राजनीतिबाटै कांग्रेसमा आवद्ध रहेका विष्टले २०६२/०६३ सालको जनआन्दोलनमा अमेरिकामा रहेर संयुक्त राष्ट्रसंघ, अमेरिकी राष्ट्रपति कार्यालय लगायतमा पुगेर नेपालमा जारी जनआन्दोलनलाई सफल पार्न अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराएका थिए। ११औं महाधिवेशनदेखि विष्ट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका छन्।

डोटीमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका विष्ट २५ वर्षदेखि विदेशमा रहेर पनि नेपालको राजनीतिक गतिविधिमा उत्तिकै सक्रिय छन्। उनले कांग्रेसमा २०६२/०६३ सालदेखि अन्तर्राष्ट्रिय मामिला हेर्ने जिम्मेवारी पाएका थिए। २०६४ सालमै तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले विष्टलाई डोटी क्षेत्र नम्बर २ बाट पनि चुनाव लड्न आग्रह गरे पनि उक्त क्षेत्रमा पुराना नेता शिद्धराज ओझा आकांक्षी भएपछि उनको सम्मानका लागि निर्वाचन लडेका थिएनन्।

विष्टकै पहलमा जोरायल गाउँपालिका र बडीकेदार गाउँपालिकामा दुई वटा एम्बुलेन्स सञ्चालनमा ल्याइएका छन्। उनले डोटीका २३ वटा सामुदायिक विद्यालयमा विभिन्न सहयोग गरेका छन्। आर्थिक अभावमा रहेका बिरामीलाई पनि उनले सहयोग गर्दै आएका छन्। कोरोना महामारीमा पनि उनले ठूलो सहयोग गरेका थिए। 

पुष्पकुमार शाही
शाही पनि विद्यार्थीकालदेखि नै कांग्रेस राजनीतिमा सक्रिय छन्। शाही २०५१ सालमा विन्ध्यवासिनी हाइस्कुल अछामको नेविसंघ इकाइ सभापति र २०५९ मा कैलाली क्याम्पसको इकाइ सभापति भएका थिए। उनले २०६० सालमा नेपाल विद्यार्थी संघ कैलालीको निर्वाचित अध्यक्षका रुपमा काम गरिसकेका छन्। 

शाही २०६१ सालमा त्रिभुवन विश्वविद्यालयमा नेविसंघ अध्यक्ष भएका थिए। २०६४ सालमा केन्द्रीय सदस्य भएका शाही २०७३ सालमा केन्द्रीय उपाध्यक्ष भए। उनी डोटीबाट १३‍औं र १४औं महाधिवेशनमा कांग्रेसको महाधिवेशन प्रतिनिधि छन्। 

गुणस्तरीय शिक्षालाई महत्व दिँदै आएका शाहीले देशभरका एक/एक पालिकामा टेक्निकल कलेज स्थापनाको माग राख्दै आएका छन्। व्यवहारिक शिक्षाले मात्रै युवालाई रोजगारोन्मुख बनाउन सक्ने शाहीको धारणा छ। शाहीले कोरोना महामारीमा विभिन्न निकायसँग समन्वय गरी करिब २० लाखबराबरको स्वास्थ्य सामग्री डोटीका विभिन्न पालिकालाई सहयोग गरेका थिए। पटक-पटक गरेर शाहीले ६ महिना कारावास जीवन बिताएका छन्।

भरतबहादुर खड्का
खड्का पनि कांग्रेस डोटीका पुराना नेता हुन्। उनले पञ्चायतकालमा एक पटक जिविस सभापति, त्यसपछि जिविस उपसभापति र फेरि जिविस सभापति भएर काम गरेका छन्। उनी समानुपातिकतर्फ संविधानसभाका पूर्व सदस्यसमेत हुन्। २०७४ सालमा खड्का प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेश सांसदमा निर्वाचित भएका थिए।

भक्त बलायर
बलायर राजनीतिका साथै शिक्षा क्षेत्रमा पनि सक्रिय छन्। बैतडीस्थित पाटन क्याम्पसका पूर्व प्रमुखसमेत रहेका बलायर डोटी क्षेत्र नम्बर १ बाट तीन पटक सांसद भएका थिए। उनले २०४८, २०५१ र २०५६ सालमा डोटी-१ बाट चुनाव जितेका थिए। वातावरण राज्यमन्त्रीसमेत भएका बलायर कांग्रेस डोटीका पूर्व सभापति तथा वर्तमान महाधिवेशन प्रतिनिधि हुन्।

प्रकाशित: Aug 31, 2022| 17:36 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...