कोहलपुर- यसै पनि मानिसको भिडभाड हुने कोहलपुरको बसपार्क। तीजको दर खाने दिन बसपार्कमा यात्रुहरु गन्तव्यमात्र खोजिरहेका थिएनन्, नाचगान र रामरमाइलो पनि चलिरहेको थियो। पसल र होटलमा पर्वले बढेको व्यापार व्यवसाय नहुने कुरै भएन।
यस्तो अवस्थामा कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य डोजर लिएर बसपार्क छिरे। कोहलपुर नगर विकास समितिको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन अल्टिमेटम दिइएको थियो। सार्वजनिक रुपमा ३५ दिने सूचना जारी भइसकेको थियो भने संरचना हटाउनका लागि थप पाँच दिनको समय दिइएको थियो। यसरी ४० दिनको समय सीमा दिँदा पनि संरचना हटाउने विषयले प्राथमिकता पाउन सकेन। यसलाई संरचना निर्माण गरेर उपभोग गर्नेहरुले सरकारी प्रक्रियाको रुपमा मात्र बुझे। तर गत सोमबार तीजको अघिल्लो दिन दर खाने तयारी भइरहँदा नगरपालिकाले डोजर निकाल्यो।
कोहलपुरको न्यूरोडमा अतिक्रमण गरी बनाइएका ३-४ वटा संरचना तथा टहराहरु भत्काएर बसपार्क पुगेको डोजरमाथि स्थानीयले ढुंगा प्रहार गरे। स्थानीय उल्टै डोजरमाथि नै जाइलागेपछि तनाव उत्पन्न भयो। विवादलाई हिंसात्मक हुन नदिनका लागि व्यापक रुपमा प्रहरी परिचालन गरियो। अवैध संरचना भत्काउने उद्देश्यसहित बसपार्क छिरेका मेयर आचार्यलाई अरिंगालकै गोलोमा हात हालेको महसुस मात्र भएन, त्यहाँबाट रित्तो हात फर्किनुपर्यो।
चाडबाडको मुखमा कोहलपुरमा हंगामा भएपछि सर्वपक्षीय बैठक बस्यो। बैठकमा सबैले अतिक्रमित जग्गा हटाउने विषयमा ऐक्यवद्धता त जनाए तर पुनर्स्थापनाको माग राखे। 'राजनीतिक रुपमा सबै एक ठाउँमा भए पनि केही व्यक्तिले अवैध कार्यको संरक्षण गरिरहेका छन्,' मेयर आचार्यले भने, ‘केही सय मतका लागि जसले राजनीतिक गरिरहेको छ, त्यसलाई जनताले चिन्नुपर्छ।’
व्यवसायीहरूले डोजर चालकमाथि ढुंगा प्रहार गर्न थालेपछि अवरोध हटाउने काम रोकिएको छ। स्थानीय व्यवसायीले विकल्प दिएर मात्रै संरचना हटाउन भनेका छन्। मेयर आचार्यले आफूहरूको अभियानमा अवरोध भए पनि काममा सहयोग गर्न नगरवासीसँग आग्रह गरेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्ल, जिल्ला ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक हिमालय शाहसहितको टोली लिएर कोहलपुर क्षेत्रमा अतिक्रमित संरचना हटाउने अभियान सुरु भइसकेको मेयर आचार्यले बताए। 'यो एउटा अभियान हो, यो केही दिन स्थगित हुन सक्छ तर रोकिँदैन। सार्वजनिक जग्गामा बसेर कोही कसैको छायामा राज्यलाई दोहन गर्न कसैलाई छुट हुँदैन।'