शनिबार, वैशाख १५, २०८१

त्रिविमा अराजकता : विद्यार्थी संगठनको आवरणमा गुण्डागर्दी, गल्ती लुकाउन दाउ खोज्दै व्यवस्थापन

बास्कोटाले विद्यार्थी संगठनले गरेका 'अराजक हर्कत'को फेहरिस्त त सुनाए। तर, त्रिविको परीक्षामा अर्को कलेजको प्रश्‍नपत्र हुबहु भएको विषयमा छानबिन समितिले तयार पारेको प्रतिवेदनको विषयमा भने उनी केही बोलेनन्।
 |  आइतबार, भदौ १२, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

आइतबार, भदौ १२, २०७९

triton college

काठमाडौं- त्रिभूवन विश्‍वविद्यालय (त्रिवि)ले प्रश्‍नपत्रमा लापरबाही गरेको भन्दै नेपाली कांग्रेस निकट विद्यार्थी संगठनले नेपाल विद्यार्थी संघ (नेविसंघ) ले छानबिनको माग गर्दै आन्दोलन गरिरहेको छ। नेविसंघकै दबाबमा त्रिवि व्यवस्थापनले छानबिन समिति बनाएर प्रतिवेदन तयार गरेको छ। उक्त प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग नेविसंघले गरिरहेको थियो। त्रिविले भने उक्त आन्दोलनलाई निस्तेज पार्नका लागि नेविसंघले अराजकता गरेको र त्रिविमा काम गर्न नसकिएको आरोप लगाउँदै आएको थियो। 

दुबै पक्षको रस्साकस्सीबीच त्रिविले आइतबार पत्रकार सम्मेलन गर्दै आफूहरुलाई काम गर्न नदिइएको विषयमा जानकारी गराउने योजना बनाएको थियो। उक्त पत्रकार सम्मेलन पनि नेविसंघले बिथोल्‍नसक्ने भन्दै त्रिविका उपकूलपति धर्मकान्त बास्कोटाको आग्रहमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। जसमा पत्रकार सम्मेलनको हलबाहिर मुल ढोकामा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयू र अनेरास्वीयू क्रान्तिकारीको नेताहरु थिए। त्यसबाहिर नेपाल प्रहरीको कडा सुरक्षा घेरा थियो। उक्त घेराभन्दा बाहिर नेविसंघले छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नाराबाजी गरिरहेका थिए। 

उक्त नाराबाजीकै बीच पछाडिबाट अनेरास्ववीयू र अनेरास्ववीयू क्रान्तिकारीका सम्बन्धित विद्यार्थी नेताहरुले नेविसंघमाथि ढुंगामुडा प्रहार गरेका थिए। त्रिवि नेविसंघका नेता श्यामराज ओझाले त्रिवि उपकूलपति बास्कोटाको डिजाइनमा नेविसंघमाथि आक्रमण गरिएको बताएका छन्। उनले भने, 'पत्रकार सम्मेलनको हलबाहिर बास्कोटाले आफू निकटका विद्यार्थी संगठनमा नेताहरुलाई राखेको र त्यसभन्दा बाहिर प्रहरीको घेरा लगाएको थिए। उनले नियोजितरुपमा नै आफ्ना कमजोरीहरु लुकाउनका लागि नेविसंघमाथि आक्रमण गर्न लगाएका हुन्। त्रिविमा बाहिरका गुण्डाहरु बोलाएर नेविसंघका साथीहरुमाथि आक्रमण गरिएको छ।' 

त्रिविले कुनै एक निजी कलेजले गरेको परीक्षाको प्रश्‍नपत्र हुबबु त्रिविको प्रश्‍नपत्र बनाएपछि त्रिविले लापरबाही गरेको र निष्पक्ष छानबिन गर्नुपर्ने भन्दै असार २७ गतेदेखि विश्वविद्यालयका विभिन्‍न कार्यालयमा नेविसंघले तालाबन्दी गरिरहेको छ। नेविसंघले यस विषयमा जवाफ माग गर्दै पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गरिनुपर्ने भन्दै नाराबाजी गरेको थियो। जसमा कृष्णप्रसाद सिटौला नजिक रहेका योगेन्द्र रावल र हरि आचार्यको समूह सक्रिय छ। उनीहरु  प्राद्यापक प्रेम चलाउनेलाई मरणासन्‍न हुनेगरी कुटपिट गर्ने अभियोगका अभियूक्त पनि हुन्।

corrent noodles
Metro Mart

आइतबार बिहान बाहिरबाट आएका अखिलसम्बद्ध नेताहरुले ढुंगामुडा गरेर नेविसंघका केही नेताहरु घाइते भए पनि भित्रि घेरामा रहेका अखिलका नेताहरु र प्रहरीको सुरक्षा घेरामा त्रिविले पत्रकार सम्मेलन गर्‍यो। जसमा त्रिविका उपकुलपति धर्माकान्त बास्कोटाले विद्यार्थी संगठनको आवरणमा भइरहेका गुण्डागर्दी र अनैतिक हर्कतको बारे फेहरिस्त प्रस्तुत गरे। आर्थिक सहयोगको नाममा चन्दा संकलन गर्नेदेखि प्राद्यापकहरु कुटिने गरेको कुरा उनले सुनाए। 

उपप्राद्यापक प्रेम चलाउनेमाथि भएको कुटपिटको प्रसंग कोट्याउँदै बास्कोटाले भने, ‘विभिन्‍न समूहले गरेको तालाबन्दी जोड्दा विश्वविद्यालयमा ३ सय दिनभन्दा बढी तालाबन्दी भइसकेको छ। विश्वविद्यालयमा विभिन्‍न समूहबाट चन्दा, आर्थिक सहयोगको नाममा रकम मागेर हैरान बनाएको गुनासो आउँछन्। हाम्रा विभिन्‍न निकायमा शिक्षक, कर्मचारी कुटिनु भएको छ।’

उपकुलपतिको कुर्सी जलाउने, विभिन्‍न कार्यालयमा तोडफोड गर्ने, ग्लोबल बैंकमा नै तोडफोड गर्ने घटनाको निन्दा गर्दै उनले त्रिविमा काम गर्ने वातावरण नै नभएको बताए। यस्तो परिस्थितिकै कारण स्वतः विश्वविद्यालयले सम्पादन गर्नुपर्ने कार्यहरु समयमा नसकिएको र यसबाट विद्यार्थीमा असुविधा पुगेको पनि उनले बताए।

त्रिविमा आइतबार अखिलका नेताहरुले गरेको आक्रमणमा परी घाइते भएका नेविसंघ नेता। 

रावल–आचार्य समूहप्रति लक्षित गर्दै उनले भने, ‘उपकुलपति कार्यकक्षमा तोडफोड गरेर टेबुल लडाउने काम गरेको छ, उपकुलपतिको कार्यकक्षमै ब्यानर टाँगेको छ। सेवा आयोगका पदाधिकारीहरुलाई पनि विभिन्‍न समयमा धाकधम्की दिइएको छ। यस्तो आतंकित वातावरणमा कसरी काम गर्न सकिन्छ?’ 

बास्कोटाले विद्यार्थी संगठनले गरेका 'अराजक हर्कत'को फेहरिस्त त सुनाए। तर, उनले त्रिविले गरेको लापरबाहीबारे मौन रहे। त्रिविको परीक्षामा अर्को कलेजको प्रश्‍नपत्र हुबहु भएको विषयमा छानबिन समितिले तयार पारेको प्रतिवेदनको विषयमा भने उनी केही बोलेनन्। त्रिविमा नेविसंघमाथि आक्रमण भए पनि छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै नाराबाजी र विरोध जारी राख्‍यो।

त्रिवि नेविसंघका नेता ओझाले प्रश्‍न गरे, 'त्रिवि उपकूलपतिले पत्रकार सम्मेलनमा आफूले गरेका कमजोरीबारे किन बोलेनन्। प्रश्‍नपत्रको विषयमा छानबिन समितिले तयार पारेको प्रतिवेदन किन सार्वजनिक गरिएन?' उनले आफूहरुले उठाएका जायज मागहरु सम्बोधन गर्न नसकेको र त्रिविले गरेका गल्ती लुकाउन गुण्डा उतार्ने व्यवस्थापनले राजीनामा दिनुपर्नेसमेत बताएका छन्। उनले थपे, 'त्रिविमा गल्ती गर्नेलाई कारबाहीको माग गर्दा शक्ति आडमा गुण्डा लगाएर नेविसंघमाथि आक्रमण गर्न लगाएर उपकूलपति बास्कोटाले नैतिकता गुमाइसकेका छन्। उनले तत्काल राजीनामा दिनुपर्छ भन्‍ने हाम्रो माग हो।' 

यसअघि खोलिएको ताला आइतबार बेलुका नेविसंघका अध्यक्ष दुजाङ शेर्पा नेतृत्वको टोलीले त्रिविको उपकूलपति, रजिष्टारसहितका पदाधिकारीका कार्यकक्षमा फेरि ताला लगाएका छन्।  तर, त्रिवि व्यवस्थापन भने नेविसंघ नेता ओझाले भनेको कुरामा सहमत छैन। उपकूलपति बास्कोटाले नेविसंघले अराजकता देखाएपछि अरु संगठनले पनि प्रत्याक्रमण गरेको र त्यसमा आफ्नो कुनै संलग्‍नता नभएको दाबी गरेका छन्। 

नियन्त्रणमा लिएका डकुमेन्ट शिक्षामन्त्रीलाई बुझाएपछि सुरक्षा माग

गत शुक्रबार त्रिविको बैठकमै पुगेर नेविसंघले महत्वपूर्ण कागजात जफत गरेर शिक्षामन्त्री देबेन्द्र पौडेलसामू बुझाएको थियो। जबकी त्यो अधिकार विद्यार्थी संघठनलाई छैन। उनीहरुले कागजपत्र जफत मात्र गरेनन्, त्रिवि कार्यकारी परिषद्का सदस्यहरुलाई धम्की पनि दिएका थिए। राजधानीको कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा शुक्रबार जारी बैठकबाटै नेविसंघले कागजात नियन्त्रणमा लिएको त्रिवि कार्यकारी परिषदका एक सदस्यले बताए। ती सदस्यका अनुसार नेविसंघका नेताहरुले आएर थर्काउने र धम्क्याउने गरेका थिए। 

त्रिवि बैठकबाट नियन्त्रणमा लिएका डकुमेन्टहरु शिक्षामन्त्रीलाई बुझाउँदै नेविसंघका नेताहरु।

‘मिटिङ चल्दै थियो। एकाएक नेविसंघका विद्यार्थी अकस्मात् भित्र छिरेर माइन्युटलगायतका कागजपत्र थुत्‍न थाले,’ उनले होटलमा बैठक गर्नुको कारणबारे बताउँदै थप भने, ‘दिनभरी नाराबाजी भयो। अवरोध पुर्‍याइरहने, बैठक हुन नदिने काम भइरहेका थिए। त्यस्तो अवस्थामा होटलमा बैठक गर्नुको विकल्प थिएन। तर होटल पनि सुरक्षित भएन।’

शुक्रबार बेलुकी ती सदस्यले नेपाल समयलाई यो सूचना दिँदै गर्दा उनी यति निरीह देखिएका थिए कि, आफू ती विद्यार्थी नेताहरुको ‘टार्गेट’मा रहेकोले समचारमा नाम उल्लेख नगर्न अनुरोध गरिरहेका थिए। यसले त्रिविभित्र विद्यार्थी संगठनको आवरणमा कसरी गुण्डागर्दी मौलाइरहेको छ भन्‍ने देखाउँछ। यससँगै त्रिवि व्यवस्थापन पनि पूर्णरुपमा दोषमुक्त छ भन्‍ने अवस्था छैन। 

यसरी बैठकमै पुगेर नेविसंघले धम्क्याएपछि त्रिविले गृहमन्त्रालयसँग सुरक्षा नै माग पनि गरेको छ। सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघका कारण असुरक्षा बढेको भन्दै त्रिभुवन विश्वविद्यालयले गृहसँग सुरक्षा माग गरेको थियो। शनिबार एक विज्ञप्ती जारी गर्दै त्रिविले नेविसंघको केही समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी र कर्मचारीलाई धम्क्याउने, विश्वविद्यालयको दैनिक कामकारबाही गर्दा बारम्बार कार्यालयमा जबरजस्ती प्रवेश गरी अवरोध गर्ने कार्य गरिरहेको जनाएको थियो।

‘भदौ १० गते अपरान्ह ४:३० बजे १०-१५ जनाको समूह त्रिवि कार्यकारी परिषद बैठक कक्षमा प्रवेश गरी पदाधिकारी, कार्यकारी परिषद्‌का सदस्यहरु र कर्मचारीबाट विगतका निर्णयसहितको पुस्तिका र अन्य महत्वपूर्ण कागजात र फाइल खोस्ने-कब्जा गर्ने, पदाधिकारीलाई हातपात गर्न खोज्‍नेजस्ता अभद्र व्यवहार गरी महत्वपूर्ण काजगात लुटी लिने कार्यप्रति विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

नेविसंघका यस्ता गतिविधिले विश्वविद्यालयका नियमित काम प्रभावित भएको त्रिविको भनाइ छ। विश्वविद्यालय र क्याम्पस कार्यालयको आर्थिक व्यवस्थापनमा पनि अवरोध पुगेकोले त्रिविको भनाइ छ। लेखा शाखामा तालाबन्दीका कारण मुलुकभरका शिक्षक, कर्मचारीले गत असारदेखि नै तलब नपाएको त्रिविले जनाएको छ।

गत भदौ ८ गते पनि नेविसंघकै यही समूहले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा तोडफोड गरेको थियो। उनीहरुले उपकुलपति डा. धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेका थिए। साथै उपकुलपति बाँस्कोटाको कुर्सीमा जुत्ताको मालासमेत लगाए र ‘त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यकक्ष नेविसंघ त्रिविको नियन्त्रणमा’ भन्दै धर्ना दिए।

यसरी यो समूहले त्रिविमा पटक-पटक अवरोध पुर्‍याइरहेको देखिन्छ। पछिल्लो समय सबैभन्दा धेरै तालाबन्दी गर्नेमा पनि यही समूह अग्रपंक्तिमा छ। यद्यपि, अन्य विद्यार्थी संगठन पनि चोखा भने छैनन्। सबै विद्यार्थी संघठनहरुलाई शैक्षिक मुद्दामा बाहेक अन्य सबै कुरामा चासो देखिन्छ।

गत महिना गुण्डागर्दीकै अर्को नमुना माधवकुमार नेपाल नेतृत्वको पार्टी निकट विद्यार्थी संघले पनि देखाएका थिए। अनेरास्ववियूका कार्यकर्ताले ‘एमालेलाई मात्र भीसीले प्राथमिकतामा राखेको र आफूहरुलाई नगनेको’ भन्दै उपकुलपति कार्यालय तोडफोड गरेका थिए। उपकुलपतिको ‘नेमप्लेट’ फाल्नेदेखि टेबुल–कुर्सी पछार्नेसम्मका काम उनीहरुले गरेका थिए।

यस्ता गतिविधि हुन पदाधिकारीमा ‘कसका मान्छे’ छन् भन्नेले पनि निर्धारण गर्छ। मतलब उपकुलपति वा अन्य पदाधिकारीमा जुन पार्टीको मान्छे छन्, विपक्षी दलका कार्यकर्ताले बखेडा झिक्ने गरेको विगतमा भएका गतिविधिले पनि देखाउँछ। अहिले उपकुलपति एमालेनिकट रहेकोले अनेरास्ववियुलाई सहजै समय दिने र अन्यलाई बेवास्ता गर्ने गरेको माधव नेपाल निकटका विद्यार्थी संगठनको आरोप छ। पछिल्लो समय ती विद्यार्थी संगठनले उपकुलपति कार्यलयमा गरिएको तोडफोड पनि यसैको बदलामा रहेको जनाएका थिए। यसरी एउटाको आरिसमा अर्को दलका कार्यकर्ता खनिँदा त्रिविमा अराजकता थप मौलाइरहेको छ। 


त्रिवि व्यवस्थापनविरुद्ध आन्दोलनमा रहेको नेविसंघ। 

विद्यार्थी संगठको आवरणमा गुण्डागर्दी मौलाउँदै गएपछि यसको औचित्यमाथि पनि प्रश्न उठ्न थालेका छन्। कतिपयले त विद्यार्थी संघठनको खारेजी नै हुनुपर्ने माग राखेका छन्। तर, शिक्षाविद् बालाचन्द्र लुइँटेल भने विद्यार्थी संगठनको खारेजी भन्दा पनि त्यसको कार्यशैलीमा सुधार ल्याउनुपर्ने बताउँछन्। विद्यार्थीको आवाज बोलिदिने संगठन चाहिने भएकोले त्यसको खारेजी नै भन्दा पनि ‘रिफर्म’ आवश्यक रहेको उनको भनाइ छ।

उनी भन्छन्, ‘अहिले विद्यार्थी संगठनहरु अराजक बन्दै गएका सत्य हो। सिर्जनात्मक आन्दोलनको सट्टा अनैतिक गतिविधि गरिरहेका देखिन्छन्। अहिले विद्यार्थी र प्राद्यापक संघ एउटा दबाब समूहजस्तो भएको छ, जसले ‘लिमिट’मा बसेर काम गरिरहेको छैन। त्यसैले पहिला त विश्वविद्यालयबाट राजनीतिक दलहरु बाहिर आइदिनुपर्‍यो।’

त्यस्तै शिक्षाविद् प्रम फ्याक पनि विद्यार्थी संगठनको आवरणमा गुण्डागर्दी भइरहेको कुरालाई पूर्णरुपमा नकार्न सक्दैनन्। तर, यो सबैको कारण भनेको विश्वविद्यालयमा भइरहेको दलीयकरण रहेको उनी ठान्छन्। अहिलेको युगमा विद्यार्थी संगठन सिर्जनशील हुनुपर्ने भए पनि त्यस्तो नभएको उनको भनाइ छ। ‘विद्यार्थीको समस्या बोलिदिन युनियन त चाहिन्छ नि। विद्यार्थी युनियनलाई ‘प्रोफेसनल’ र ‘एकेडेमिक’ बनाउनुपर्‍यो। प्राद्यापकको पनि त्यस्तै हो। आफ्नो अधिकार र व्यवसायिकताको आधारमा युनियनहरु आवश्यक छन्। तर, दलीयकरण हुनुभएन,’ फ्याकले भने, ‘हाम्रोमाचाहीँ विद्यार्थी संगठनहरु झन उल्टो बाटो हिंडिरहेका छन्। गर्नुपर्ने काम छोडेर, नगर्नुपर्ने काम गरिरहेका छन्।’

आइतबार नै सिंहदरबारमा नेविसंघले समग्र शैक्षिक विकासका लागि केही तत्कालिक तथा संरचनागत सुधार गर्नुपर्ने माग राख्दै विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको छ।  विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र राखी विना व्याज शैक्षिक ऋण प्रदान गर्ने निर्णय यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने, अस्वभाविक रूपमा बढाइएका शुल्क खारेज गर्नुपर्ने, विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउनुपर्ने, शैक्षिक क्षेत्रको सुरुवातमा विद्यार्थी भर्नासँगै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउनुपर्ने माग नेविसंघको छ।

प्रकाशित: Aug 28, 2022| 21:19 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्