काठमाडौं– नेपाली कांग्रेसका दुई भ्रातृ संस्था नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व गरेर पार्टी राजनीतिमा बढुवा भएका बालकृष्ण खाण हक्की स्वभावका नेता मानिन्छन्। तर उनलाई नजिकबाट नियालिरहेकाले आजभोलि भन्न थालेका छन्, 'खाण दाइ फेरिनुभयो'। उनीहरूले गर्ने टिप्पणी पछाडिको कारण हो- खाणको बदलिएको स्वभाव। खाणसँग लामो संगत गरेका नेताहरूले यस्तै अनुभव गर्न थालेका छन्।
सहयात्री एक नेताको स्मरणमा तरुण दलको अध्यक्ष रहँदा खाणको स्वभाव 'जर्साब'को भन्दा कम थिएन। ‘तरुण दलको अध्यक्ष हुँदा 'बोल्ड डिसिजन' गर्ने र कार्यान्वयन गराउने उहाँको शैली थियो। कुराकानीको शैली पनि जर्साबको भन्दा कम थिएन। उहाँसँग तर्क-वितर्क हुँदैनथ्यो,’ ती नेता स्मरण गर्छन्, ‘कुनै कुरा उहाँलाई ढाँट्न सकिन्थ्यो। ढाँटेको पुष्टि भए थर्काइहाल्ने, कारबाही गर्नेसम्मको निर्णय लिनुहुन्थ्यो। जिल्ला अध्यक्ष काठमाडौं आउनुपर्यो भने सोध्नुपर्थ्यो। नसोधी काठमाडौं आएको थाहा पाए कारबाही नै गर्नुहुन्थ्यो।’
तरुण दलको अध्यक्ष हुँदाताका ‘जर्साब’ शैलीका खाण अहिले देशको शान्ति, सुरक्षा कायम गर्ने कमान्डर छन्, गृहमन्त्रीको हैसियतमा। तर उनको जर्साबी शैलीमा अहिले ठूलो फरक आएको छ। कुनै बेला नेता–कार्यकर्ताले तर्क–वितर्कसमेत गर्न नसक्ने खाणले अहिले आफूलाई कम बोल्ने र बढी सुन्ने नेताका रूपमा परिवर्तित गरेका छन्।
गृह मन्त्रालय सम्हालेपछि खाणको स्वभाव फेरिएको हो। ‘खाण दाइको इमेज नै कडा र हक्की हो। हत्तपत्त अरूका कुरा नसुन्ने उहाँ आजभोलि आफू कम बोल्नुहुन्छ र अरूका कुरा धेरै सुन्नुहुन्छ,’ उनी निकट एक नेता भन्छन्, ‘त्यसको परिणाम उहाँको कार्यसम्पादनमा देखिँदै आएको छ।’