भैरहवा- रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभाकोलागि निर्वाचित सांसद घनश्याम भुसालले रुपन्देहीका उद्योगीहरुलाई सम्बोधन गर्दै समस्यासंग नडराउन अनुरोध गरेका छन्।
सांसद भुसालले उद्योगी व्यवसायीलाई बारम्बार समस्या आउने भएता पनि त्यसको डटेर सामना गर्दै अगाडी बढ्न समेत आग्रह गरेका हुन्।
मंगलबार भैरहवामा उपस्थितं जिल्लाका उद्योगी व्यवसायीहरुको साढे ३ घन्टासम्म लगातार समस्या सुनेपछि पुर्वमन्त्री समेत रहेका भुसालले भने, ‘समस्या आइरहन्छन् त्यसलाई समाधान गर्दै जाने हो। अब देशमा बलियो र स्थायी सरकार छ। यस्तो बेला पनि मुलुक र जनताका बारेमा नसोच्ने राजनैतिक दल होस् वा कुनैपनि नेता सत्यानाश भएर जाने जान्छ । ’
संसदका अर्थ समितीका सदस्य समेत रहेका भुषालले यस क्षेत्रमा आवश्यक १ सय ३२ केभिए लाईन चाडैनै आउने बताउदै सेज र अन्तराष्ट्रिय बिमानस्थल समयमै सँचालनमा आउने दाबी गरे। 'बिद्युतको बारेमा चिन्ता नलिनुस यो समस्या चाडैनै समाधान हुन्छ' साँसद भुषालले भने, 'यस क्षेत्रमा समस्या प्रति म गम्भिर छु।'
सो कार्यक्रममा बैंकको चर्को ब्याज दर र पछिल्लो पटक सरकारका तीन तहले तोकोको मनपरी करले उद्योग ब्यवसाय धराशायी हुने अवस्थामा पुगेको उद्योगी व्यवसायीले चिन्ता ब्यक्त गरेका थिए। उनीहरुले अहिलेको यस्तै अवस्था रहे सँचालनमा रहेका उद्योग बन्द हुने र नयाँ उद्योग स्थापना गर्न नसकिने चेतावनि दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४