विराटनगर– सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ भदौभित्रै सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लाग्ने दाबी गरेका छन्।शुक्रबार मोरङ पुगेका दाहालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।
सिट बाँडफाँटमा बाहिर हल्ला भएजस्तो असहमति वा सकसपूर्ण अवस्था नरहेको उनको जिकिर छ। दाहालले भने, ‘बाहिर चर्चा भएजस्तो एकदमै धेरै समस्या केही छैन। हामी निरन्तर छलफलमा छौं। कार्यदलले काम गरिरहेको छ।’
दाहालले राष्ट्रपतिका कतिपय व्यवहार भने स्वाभाविक नदेखिए पनि नागरिकता विधेयक स्वीकृत हुने विश्वास व्यक्त गरे। उनले भने, ‘राष्ट्रपतिबाट नागरिकता विधेयक स्वीकृत हुनेमा म विश्वस्त छु। कतिपय व्यवहार स्वाभाविक देखिएका छैनन् तर यसले त्यस्तो केही संकट निम्त्याउने देख्दिनँ।’
नागरिकता विधेयकमा सुझाव दिएकी राष्ट्रपतिलाई सत्ता गठबन्धनले सोही विधेयक जस्ताको तस्तै पठाएपछि विवाद चुलिएको छ।
पार्टीमा केन्द्रीय पदाधिकारी मनोनीत समावेशी नभएको भन्ने गुनासो जायज नभएको उनको भनाइ छ। पदाधिकारी दैनिक काम सम्पन्न गर्न आवश्यक पर्ने तर नीति बनाउने स्थायी कमिटीमा एकै पटक १० महिला ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।