काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरू निकटका सम्पत्तिमाथि डोजर चलाएर सन्की र लहडी आतंक सिर्जना गरे प्रतिकार गर्ने चेतावनी दिएका छन्। बिहीबार साँझ फेसबुकमा स्टाटस लेख्दे नेता बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफूनिकटका व्यवसायीको सम्पत्तिमाथि डोजर चलाए त्यसलाई नियन्त्रण गर्न बाध्य हुने चेतावनी दिएका हुन्।
नेकपा एमाले निकट व्यवसायी द्विराज शर्मा शिवाकोटीको अल्फाबिटा कम्प्लेक्सले अवैधानिक संरचना बनाएको भन्दै मेयर बालेन्द्रले बिहीबार कम्प्लेक्सको बेसमेन्टमा डोजर लगाएका थिए।
'हामीसँग नजिक भएर या फोटो लिएको कारण भने त हामीसमेत मिलेर कसैको सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुनेछौँ,' बस्नेतको स्टाटसमा लेखिएको छ।
बस्नेतले बुद्धिजीवीहरूले बालेनको कदमको स्वागत गरेको भन्दै उनीहरूलाई पनि बौद्धिक अराजकता नफिजाउन चेतावनी दिएका छन्। 'कथित बुद्धिजीवी कल्याणजीहरुले बौद्धिक अराजकता नफिजाएकै राम्रो,' उनको स्टाटसमा लेखिएको छ।