शुक्रबार, वैशाख २१, २०८१

कांग्रेस रिझाउँदै उन्मुक्ति पार्टी

कैलाली–५ वा कञ्चनपुर–३ बाट प्रधानमन्त्रीपत्नी आरजु उठ्ने चर्चा चलिरहँदा कैलाली र कञ्चनपुरमा राम्रो पकड जमाएको एनयूपीसँग तारन्तार छलफलमा जुटिरहेको छ कांग्रेस।
 |  शुक्रबार, भदौ १०, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (एनयूपी)ले तयारी सुरु गरेको छ। कैलालीको टीकापुर घटनाको अभियोगमा जेलमा रहेका चौधरीको पार्टी एनयूपीले कैलाली–५ मा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई सहयोग गर्ने तयारी गरेको रेशम निकट उच्च स्रोतले बताएको छ।

triton college

थरुहट आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा भएको घटनामा ८ सुरक्षाकर्मीसहित एक बालकको हत्या अभियोगमा चौधरी डिल्लीबजारस्थित कारागारमा छन्। उनी जेलमै रहेका बेला १९ पुस २०७८ मा पत्नी रञ्जीता श्रेष्ठ चौधरीका नाममा एनयूपी पार्टी निर्वाचन अयोगमा दर्ता भएको थियो। पार्टी गठनको चार महिनापछि भएको स्थानीय तह निर्वाचनमा एनयूपी कैलालीमा ४ स्थानीय तह प्रमुख, १४ वडाध्यक्षसहित ९९ प्रतिनिधि जित्दै दोस्रो ठूलो दल बनेको थियो। छोटो समयमा बलियो उपस्थिति जनाएको एनयूपीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कैलाली, कञ्चनपुर र बर्दियामा उम्मेदवार उठाउने तयारी गरेको छ।

एनयूपी नेता चौधरीलाई छुटाउन गठबन्धनका दलहरू छलफलमा छन्। प्रधानमन्त्री शेरबहादुर देउवा आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री बनाउन कुनै पनि हालतमा चुनाव जिताउने ध्याउन्नमा छन्। सोही कारण आरजु सुरक्षित क्षेत्रको क्षेत्रको खोजीमा छन्। 

कैलाली–५ वा कञ्चनपुर–३ बाट आरजु उठ्ने चर्चा चलिरहँदा छोटो समयमा कैलाली र कञ्चनपुरमा राम्रो पकड जमाएको एनयूपीसँग कांग्रेस छलफलमा छ। स्रोतका अनुसार कांग्रेस र एनयूपीबीच आरजुलाई सहयोग गर्ने विषयमा पटक–पटक छलफल भएको छ। अन्य दलका नेताहरूले पनि रेशमसँग सहकार्यका लागि चहलपहल बढाएकोमा विशेषगरी कांग्रेस र जसपाका नेताहरू उनलाई भेट्न जेलमा गइरहने एक नेताले बताए।

केही समयअघि लोसपा अध्यक्ष महन्थ ठाकुर पनि उनलाई भेट्न जेलमै पुगेका थिए। 'छलफलमा रेशमको मुद्दामा दलहरू सकारात्मक छन्। गठबन्धनका दलसँग मात्रै नभएर एमालेसँग पनि छलफल भइरहेको छ। रेशमको रिहाइका लागि दलहरू सकारात्मक छन्,’ ती नेताले भने।

corrent noodles
Metro Mart

निर्वाचनपछि पुनः कांग्रेसको सरकार बन्ने विश्वासमा रहेको एनयूपीले कांग्रेसलाई रिझाउने प्रयास गरेको छ। सोहीअनुसार एनयूपीले धनगढीमा सघाउने कांग्रेसलाई वाचा गरेको छ। ‘धनगढीमा दाबी नगरेर वा कमजोर उम्मेदवार उठाएर सहयोग गर्छौं तर प्रत्यक्ष भोटै मागेर वा गठबन्धन गरेर भने जाँदैनौं,’ एक केन्द्रीय नेताले भने। 

अध्यक्ष रञ्जीताले कैलाली–१ बाट उम्मेदवारी दिने घोषणा गरिसकेकी छन्। बुधबार रञ्जीताले टीकापुरबाट चुनाव लड्ने घोषणा गरेकी हुन्। यसअघि रञ्जीतालाई पार्टीले रेशमको बार्गेनिङका लागि आरजुको क्षेत्रमा उठाउने रणनीति नबनाएको होइन। तर कांग्रेससँग सकारात्मक वार्ता भएको स्रोतको दाबी छ।

‘पार्टीभित्र रञ्जीतालाई आरजुको क्षेत्रमा उठाउने छलफल भएको हो तर त्यो बार्गेनिङ प्वाइन्ट थियो,’ स्रोतले भन्यो, ‘क्षेत्र–१ मा रञ्जीताको जित निश्चित छ। त्यसैले अन्ततः उहाँ १ बाटै उठ्नुहुन्थ्यो।’ राजनीतिक दलसम्बन्धी विधेयकअनुसार राष्ट्रिय दल बन्न प्रत्यक्षमा १ सिट र समानुपातिकमा कम्तीमा ३ प्रतिशत मत आवश्यक भएकाले एनयूपीले रञ्जीतालाई ‘सेफ’ क्षेत्र दिएको हो।

गत स्थानीय तह निर्वाचनमा कैलालीमा दोस्रो दल बनेको टीकापुर घटनाका आरोपी रेशमको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा पकड जमाएपछि पत्नी आरजुलाई जिताउन चौधरीलाई फकाउँदै छन् कांग्रेस सभापति देउवा।  

कैलालीमा सबैभन्दा राम्रो पकड बनाएको एनयूपीले क्रमशः २, ३ र ४ नम्बर क्षेत्रका उम्मेदवार उठाएर त्यसपछि क्षेत्र नम्बर ५ बारे निर्णय गर्नेछ। अघिल्लो सातादेखि क्षेत्र नम्बर २ को उम्मेदवार छनोटका लागि पार्टीमा छलफल भइरहे पनि टुंगो लागेको छैन। एनयूपीले सिट सुरक्षित गरेरै कांग्रेसका अरुणकुमार चौधरीलाई भित्र्याएको थियो। तर यहाँ महेन्द्र उपाध्याय पनि आकांक्षी देखिएका छन्।

यसैगरी एमालेले अनुशासनको कारबाही गरी सामान्य सदस्यसमेत नरहने गरी कैलाली जिल्ला अध्यक्षबाट हटाएका रतन थापा पनि यस पार्टीमा प्रवेश गर्ने तयारीमा छन्। सिट सुरक्षित भए उनी पार्टीमा प्रवेश गर्न तयार भएको एनयूपीका एक नेताले बताए। सोही कारण क्षेत्र–२ को उम्मेदवार को हुने भन्ने पक्का भइसकेको छैन।

हत्या अभियोगमा जेलभित्र रहेका रेशमले पनि प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारी गरेका छन्। उन्मुक्ति पार्टीले रेशमले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने दाबी गरेको छ। यद्यपि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ ले भने उनलाई उम्मेदवार हुन अयोग्य  ठहर्‍याएको छ।

प्रकाशित: Aug 26, 2022| 10:46 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...