सोमबार, चैत २, २०८२

पश्चिम म्याग्दीको शिवाङमा सुविधायुक्त छात्रावास निर्माण

धौलागिरि गाउँपालिका–७ शिवाङस्थित हेम माध्यमिक विद्यालयमा छात्रावास निर्माण गरिएको हो।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

म्याग्दी- पश्चिम म्याग्दीको दुर्गम गाउँ शिवाङमा गण्डकी प्रदेश सरकारको २ करोड रुपैयाँभन्दा बढी लगानीमा सुविधा सम्पन्न छात्रावास निर्माण गरिएको छ। छात्रावास निर्माणपछि विद्यार्थीलाई सहज भएको छ। 

National life

धौलागिरि गाउँपालिका–७ शिवाङस्थित हेम माध्यमिक विद्यालयमा छात्रावास निर्माण गरिएको हो। दशैंपछि नयाँ भवनमा विद्यार्थी राख्ने तयारी रहेको प्रधानाध्यापक शेरबहादुर केसीले जानकारी दिए। २४ कोठे ३ तले भवनमा ८० विद्यार्थी राख्न सकिने क्षमताको छ।

‘विद्यार्थीको हेरचाह र खानपानको व्यवस्था मिलाउन ३ कर्मचारीको व्यवस्था गरेका छौं,’ उनले भने। ४ वर्षअघि प्रदेश सरकारको नमूना आवासीय विद्यालय कार्यक्रमअन्तर्गत छनोट भएपछि छात्रावास निर्माण थालिएको हो। भवन निर्माणपछि विद्यालयले विद्यार्थीलाई आवासीय सुविधा दिएको छ।

विद्यालयमा नै आवासीय सुविधा पाउने भएपछि भिर, पहरो, जंगल र खोलाको बाटो छिचोल्दै दैनिक ३–४ घण्टा हिँडेर विद्यालय आउजाउ गर्ने विद्यार्थीलाई अब सहज भएको छ। ‘अभिभावक समेत खुशी भएका छन्,’ प्रधानाध्यापक केसीले भने। 

छात्रावासको सुविधा भएपछि बीचमा नै पढाइ छोड्ने क्रम घट्ने केसी बताउँछन्। गरीबी र पारिवारिक वातावरण नभएर पढाइ छोड्न बाध्य विद्यार्थी लाभान्वित हुनेछन्। यसअघि    जीर्ण छात्रावासमा निकै असुविधा थियो।

Laxmi sunrise bank
kumari

आवासीय सुविधा प्रदान गर्न गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि विद्यालयमा नमूना आवासीय विद्यालय कार्यक्रम लागू गरेको थियो। विद्यालय नजिकको झिनडाडाँमा भवन निर्माण गरिएको हो।

गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीका अनुसार छात्रवास व्यवस्थापनका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको छ।   -रासस

प्रकाशित: Aug 25, 2022| 10:24 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्