विराटनगर- पचास प्रतिशत छुटमा सामान उपलब्ध गराउने भन्दै ठगी गरेको आशंकामा मोरङ प्रहरीले एक भारतीय व्यापारीलाई नियन्त्रणमा लिएको छ। अन्य चार जना फरार भएका छन्।
भारत तमिलनाडुका ५५ वर्षीय साराभाम वामानन्दलाई विराटनगर महानगरपालिका–५ भकृटीमार्गबाट बुधबार साँझ पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।
विराटनगर-५ को भृकुटीमार्गमा बामानन्दले रुबि इन्टरप्राइजेज नामक पसल दर्ता गर्दै वडा कार्यालय र आन्तरिक राजस्व कार्यालयबाट इलेक्ट्रोनिक्स सामान बिक्री गर्ने अनुमति लिएर ठगी गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। इलेक्ट्रोनिक्स सामानको मात्रै अनुमति लिएर अरु सामान पनि बेच्ने गरेको र विभिन्न ‘स्किम’ देखाएर शंकास्पद कारोबार गरिरहेको पाइएको प्रहरीले बताएको छ।
इलोक्ट्रोनिक्सको मात्रै अनुमति लिएर फ्रिज, मोटरसाइकल, ग्यास चुल्हो, फर्निचरका सामान, साइकल, मोबाइलदेखि सबै प्रकारका घरयासी सामान बेच्ने गरेको भन्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई स्थानीयले जानकारी दिएका थिए। दाहालकै निर्देशनमा प्रहरीले पसलमा छापा मारेर वामानन्दलाई नियन्त्रणमा लिएको हो।
खरिदका लागि अनलाइनमार्फत पैसा तिरेको १८ दिनभित्र ग्राहाकलाई सामान उपलब्ध गराउने भन्दै अनलाइनमार्फत पैसा बुझाउन भन्ने गरेको पाईएको एसपी कोइरालाले बताए। उनका अनुसार बजार मूल्यभन्दा आधा रकममा सामान बिक्री गर्ने भनि छुटको ‘स्किम’ देखाएर प्रलोभनमा पार्दै सर्वसाधारणसँग पैसा असुल्ने गरेको पाइएको छ। करिव ३५ लाखजति पैसा असुलेपनि सामान उपलब्ध नगराएको पाईएको प्रहरीले बताएको छ।