विराटनगर– नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीलाई कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाले पूर्व अध्यक्ष निष्ठुरीलाई पुरस्कृत गरिने निर्णय गरेको जनाएको छ। पुरस्कारको राशी २५ हजार रहेको छ। यसअघि सो पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीलाई प्रदान गरिएको थियो।
त्यसैगरि खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार सञ्चार क्लब उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई प्रदान गर्ने निर्णय गरिएको छ। पुरस्कारको राशी ११ हजार रुपैयाँ रहेको पत्रकार महासंघ मोरङले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सो पुरस्कार यसअघि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद कमल पौडेललाई प्रदान गरिएको थियो।
दुबै पुरस्कार मोतिराम जयन्तीका अवसरमा भदौ ११ गते समर्पण गर्ने निर्णय गरिएको महासंघ मोरङका अध्यक्ष संजीव खनालले बताए।