काठमाडौं- उच्च अदालत जनकपुरले निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश जारी गरेको छ। निहारिका विगत केही महिनादेखि बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी भनिएका शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन्।
उच्च अदालत जनकपुरका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले बुधबार निहारिकाको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको हो।
जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी थिइन्। प्रहरीले आरोपित शिवराज श्रेष्ठलाई यसअघि नै पक्राउ गरिसकेको थियो। हाल उनलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर थुनामा राखिएको छ।
यसअघि उच्च अदालतमा मुद्दाको पेसी सारिरहेको थियो। गत माघ २४ गते जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले शिवराजलाई सफाइ दिएको थियो। अदालतले सफाइ दिएपछि निहारिका अन्यायमा परेको भन्दै काठमाडौंमा पटक-पटक अनशन बस्दै आएकी थिन्।
कानुनमन्त्री गोविन्द शर्मा बन्दीको पहलमा डीएनए परीक्षण गर्ने सहमति पछि सोमबार निहारिकाले १७ दिन लामो अनसन सोमबार तोडेकी हुन्।
त्यसअघि निहारिकाले राष्ट्रपति भवन शितल निवासअगाडि आत्मदाहको प्रयास गरेपछि प्रहरीले गत मंगलबार बलात्कारको आरोप लगाएका शिवराज श्रेष्ठलाई पक्राउ गरेको थियो। यसअघि अदालतबाट सफाइ पाएपछि उनी थुनामुक्त भएका थिए। अदालतबाट न्याय नपाएको भन्दै निहारिकाले आत्मदाहसम्मको प्रयास गर्दा पुनः श्रेष्ठ पक्राउ परेका हुन्।
तर पक्राउ परे पनि प्रहरीले निहारिकाको मुद्दामा भने कारबाही अगाडि बढाउने तयारी गरेको छैन। उनीविरुद्ध अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीप क्षेत्रीले बताए।
त्यसअघि गृहमन्त्री बालकृष्ण खाँणले पनि निहारिकाको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै आमरण अनसन तोडाएका थिए। तर त्यसपछि पनि माग सम्बाेधन नभएको भन्दै उनले पुनः आन्दोलन थालेकी थिइन्।