शुक्रबार, असोज १६, २०८३

हास्यरस रुचाएका दर्शकले हेर्लान् 'प्रकाश' र 'राधा'?

‘प्रकाश’ र ‘राधा’ दुवै चलचित्र कन्टेन्टमै आधारित गम्भीर चलचित्र हुन् भनेर प्रचारप्रसार गरिएको छ। ट्रेलर हेर्दा त्यस्तो लाग्छ पनि।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

काठमाडौं– रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डीः द फाइनल म्याच’ले बक्स अफिसमा गज्जब व्यापार गरेपछि सिने क्षेत्र निकै हौसियो। तर, त्यसपछि प्रदर्शनमा आएका ‘चिसो मान्छे’, ‘दोख’, ‘पानीफोटो’, ‘कृष्ण लीला’, ‘प्रेमगन्ज’ र ‘माइकल अधिकारी’ जस्ता दर्जन चलचित्रले खासै कमाल गर्न सकेनन्। कतिपयले त ‘पोष्टरको पैसासमेत उठाउन नसकेको’ टिप्पणी सिने बजारमा सुनिए। हास्यरसले पूर्ण चलचित्र कबड्डी–४ले जसरी दर्शकको मन जितेको थियो, ‘कन्टेन्ट’मा आधारित चलचित्रले त्यसैगरी दर्शकको मन जित्न सकेनन्।

यही परिप्रेक्ष्यमा १० भदौ (शुक्रबार) देखि आश गरिएका दुई चलचित्र लाग्दैछन्– ‘प्रकाश’ र ‘राधा’। दुवै चलचित्र कन्टेन्टमै आधारित गम्भीर चलचित्र हुन् भनेर प्रचारप्रसार गरिएको छ। ट्रेलर हेर्दा त्यस्तो लाग्छ पनि। 

‘प्रकाश’मा मुख्य भूमिका निर्वाह गरेका प्रदीप खड्काले त आफू यही चलचित्रदेखि हिरोबाट कलाकार भएको समेत भनेका छन्। प्रकाशको टिमले हालै जुम्लाको पातारासी गाउँपालिकाको तिर्खु गाउँमा चलचित्रको वर्ल्ड प्रिमियर गर्यो।

स्थानीयवासीले गाउँमै बसेर पहिलो पटक चलचित्र हेरेका हुन्। झण्डै २ घण्टाको सो चलचित्र ४५ दिन लगाएर गत वर्ष चैत र वैशाखमा पातारासीको तिर्खु गाउँमा छायांकन गरिएको थियो। चलचित्र प्रदर्शनमा नआउँदै ७५ प्रतिशत लगानी सुरक्षित भएको चलचित्र निर्माताको दाबी छ। चलचित्र निर्माणमा झण्डै दुई करोड ५० लाख बजेट लगानी भएको बताइएको छ। यो चलचित्र  भारत, अमेरिका, जापान, अस्ट्रेलियालगायत दर्जनभन्दा बढी देशमा एकैसाथ प्रदर्शन हुँदैछ।

जुम्लाको एक युवकले शिक्षक बन्न गरेको संघर्ष, हुँदा खाने र हुने खानेबीचको भेदभाव, जुम्ली भाषा, साहित्य, संस्कृति तथा रहनसहनलाई  कथा बनाएर जुम्लामै छायांकन गरिएको चलचित्र हो प्रकाश। हिजोको दिनमा सहरिया युवाको प्रेमकथालाई फिल्मको मुख्य कथा बनाउँदै आएका निर्देशक दिनेश राउतले जुम्लाको कथामा बुनिएको चलचित्र प्रकाशलाई ४५ दिन लगाएर छायांकन गरेका थिए। 

राज्यबाट शिक्षा स्वास्थ्य रोजगार विकास निर्माणबाट ओझेल परेको कर्णाली त्यसमा पनि सम्भावनायुक्त जुम्लालाई पर्दामार्फत राज्यको मूल प्रवाहमा ल्याउन र बिम्बात्मक रूपमा नेपालको वास्तविकता झल्काउन चलचित्र प्रकाशले प्रयास गरेको छ। चलचित्रमा जुम्लाका स्थानीय कलाकारको अभिनय पनि छ भने प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक पनि छन्। 

विकास सुवेदीले लेखेको चलचित्र प्रकाशको टिमले प्रचारप्रसारमा कुनै कसर छोडेको छैन। समाजको यथार्थपरक कथालाई व्यवसायिकरण गर्दै जानुपर्ने बताउने निर्देशक राउतले प्रकाशबाट पनि व्यावसायिक सफलता पाउने अपेक्षा राखेका छन्। फिल्म घाटामा नजानेमा उनी ढुक्क छन्। 

यति हुँदाहुँदै पनि चलचित्र प्रकाशले नेपालका चलचित्र हलबाट कस्तो व्यापार गर्ला भन्ने अड्कलबाजी चलिरहेकै छ। निर्माण टिम भने प्रदीप खड्काको स्टारडमका कारण पनि चलचित्र प्रकाशले व्यावसायिक सफलता पाउनेमा विश्वस्त छ। 

उता, सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट अफ राधा’मा हराएका पतिको खोजीमा निस्किएकी एक महिलाको संघर्षपूर्ण कथा छ। सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र राधामा सौगात र सृष्टिसहित दयाहाङ राई, खगेन्द्र लामिछाने, दिव्यदेव पन्त, मेनुका प्रधान, बुद्धि तामाङ, पशुपति राई, लोकेन्द्र लेखकलगायत कलाकार छन्। अहिलेका चल्तीका कलाकारको जम्बो टिमलाई राधामा देख्न सकिन्छ। निर्देशक थापाले निर्देशन गरेको चलचित्र ‘म’ले लगानी उठाउन सकेन। छोटो फिल्म ‘मलामी’ र फिचर फिल्म ‘सुनगाभा’ मार्फत दर्शकको मन जितेका थापाले चलचित्र ‘म’ बाट भने निराश बनाए। ती निराश दर्शकलाई राधाले हलसम्म तान्नेमा विश्वस्त छन्, थापा।

राधाका निर्देशक सुवर्ण थापा।
निर्देशक थापालाई ‘म’को प्रचारप्रसार छोडेर ‘राधा’को प्रचारप्रसारमा मात्रै ध्यान दिएको भन्ने आरोप पनि खेप्न परेको थियो। राधाको स्क्रिप्टले अन्तर्राष्ट्रिय फन्डिङ पनि कलेक्सन गरेको थियो। नारीलाई मुख्य पात्र बनाएर सिनेमा बनाउन रुचि राख्ने सुवर्णले 'राधा'को स्क्रिप्ट तयार पारी ‘बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा सहभागी गराए। स्क्रिप्ट पास भयो। फन्डिङ पाए। सिनेमा बनाउने हौसला बढ्यो। चाइना पर्फर्मेन्स इन्ड्रस्टिज एसोसिएसनको आयोजनामा हुन लागेको ‘बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल २०२२’ मा पनि ‘राधा’ प्रदर्शनमा आउन बताइएको छ।

प्रकाशले जसरी प्रचारप्रसारमा तिव्रता दियो, त्यसैगरी राधाको टिमले पनि भव्य प्रचारप्रसार गरिरहेको छ। महिलालाई मुख्य पात्र बनाएर सिनेमाको कथा भन्न रुचाउने थापाले राधामा पनि महिलाको साहस र संवेदनासँग नजिक रहेर काम गरेको बताएका छन्। ‘राधामा महिला पात्रको काँधमा सिनेमाको सम्पूर्ण कथाको जिम्मेवारी दिएर न्याय गर्न खोजिएको छ। यसो हुँदा पनि चलचित्रले व्यावसायिक सफलता पाउनेमा ढुक्क छौं,’ थापाले भने। 

त्यसो त कतिपय सिनेमा राम्रो हुँदा पनि विभिन्न पक्षको चेपुवामा पर्नाले भनेजस्तो व्यापार गर्न सक्दैनन्। हिन्दी फिल्मको मारमा परेर अपेक्षा गरिएकै नेपाली फिल्मले पनि पानीसमेत भन्न नपाएका धेरै उदाहरण छन्। प्रकाश र राधासँगै दक्षिण भारतीय फिल्म ‘लाइगर’ पनि विश्वभर एकसाथ प्रदर्शनमा आउँदैछ। बिहीबारदेखि नेपालमा पनि प्रदर्शन हुन लागेको लाइगरले ‘प्रकाश’ र ‘राधा’ हेर्न आउने दर्शकलाई आफूतिर नमोड्ला भन्न सकिन्न। 

प्रकाशित: Aug 24, 2022| 17:29 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।