काठमाडौं- प्रहरीले हालसम्म मिटरब्याजमा ऋण लगानी गरेर ठूलो रकम असुल्ने तीन साहुलाई पक्राउ गरेको छ। नवलपरासीका साहुहरू जगदीश कानु बानियाँ र लालबहादुर खड्का तथा सर्लाहीका साहु अनिरुद्ध साहलाई पक्राउ परेका हुन्।
शनिबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले भंगहा-५ सिद्धपुरका अनिरुद्ध साहलाई पक्राउ गरेको थियो। १२ गुणासम्मको तमसुक बनाउने, चर्को ब्याजदरमा ठूलो रकम असुल्ने र दृष्टिबन्धकमा राखेको जमिन छिनुवा पास गरेर हडप्ने गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। मधेसका महोत्तरी, धनुषा, सर्लाहीलगायतका जिल्ला तथा प्रदेश १ का मोरङ, झापालगायतका जिल्लाका अप्ठ्यारोमा परेका गरिब, किसानलाई मिटरब्याजमा ऋण दिने गरेको आरोप उनीमाथि लागेको छ।
उनको ससुरालीबाट ९ जना ऋणीको नाममा बनाइएको ७१ लख ४४ हजार ३५० रुपैयाँको कपाली तमसुक पनि फेला परेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिएका छन्। उनीमाथि प्रहरीले ठगी मुद्दा चलाएको छ।
यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नवलपरासीबाट २ जना साहुलाई पक्राउ गरेको छ। सोमबार नवलपरासी प्रतापपुर गाउँपालिकाका साहु बानियाँलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो। यसैगरी अर्का साहु खड्का काठमाडौंबाटै पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरीले अनुसन्धानका लागि महाराजगञ्जस्थित सीआईबीको हिरासतमा राखेको छ।
मिटरब्याज पीडित संघर्ष समितिकाअनुसार पक्राउ परेका जगदीशले उक्त समितिमा रहेका २९ जना र अर्का साहु खड्काले ४ जनालाई ऋण दिएका छन्।
नवलपरासीका मिटरब्याज पीडित किसानहरू विगत २२ दिनदेखि काठमाडौंस्थित माइतीघरमा आन्दोलनरत छन्। उनीहरूले यसअघि गत जेठमा पनि आएर आन्दोलन गरेकोमा गृह मन्त्रालयले जिल्लासँग सममन्वय गर्नेगरी न्याय दिलाउन सहमति गरी घर फर्काएको थियो। त्यसबेला जगदीश बानियाँसहित उनका भाइ सुनिललाई प्रहरीले पक्राउ पनि गरेको थियो।
२१ दिन हिरासतमा बसेका उनीहरूले केही ऋणीको तमसुक च्याते पनि पछि पुनः दुःख दिन थालेपछि पीडितहरु तर सहमतिअनुसार अनुसन्धान नभएको भन्दै पुनः न्यायका लागि माइतीघर आएका थिए।
उक्त आन्दोलनपछि गृह मन्त्रालयले मिटरब्याज अपराध नियन्त्रणका लागि सिफारिस कार्यदल बनाई साउन २८ मा पीडितलाई उजुरी दिन सार्वजनिक अनुरोध गरेको थियो। भदौ ५ गतेसम्म उजुरी दिन समायवधि छुट्टाइएकोमा उक्त अवधिसम्म देशैभरबाट १ हजार ९३७ जनाले उजुरी दिएको मन्त्रालयले जनाएको छ।