काठमाडौं– काठमाडौं उपत्यकामा यसअघि थुप्रिएको सबै फोहोर व्यवस्थापन आगामी चार दिनभित्र गरिसकिने काठमाडौं महानगरपालिकाले जनाएको छ।
टेकु ट्रान्फरस्टेसनमा रहेको फोहोरबाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहोर व्यवस्थापनको काम यही सातासम्ममा सक्ने गरी काम भइरहेको कामपा वातारण विभागको प्रमुख सरिता राईले जानकारी दिइन्। प्रमुख राईका अनुसार मुख्य सडकमा रहेको सबै फोहोरको व्यवस्थापन कार्य सकिएको छ, अब भित्री सडकमा रहेको केही फोहोर बाँकी छ। त्यसको पनि अन्तिम व्यवस्थापनको काम आगामी शनिबारसम्ममा सकिनेछ।
यसअघिको फोहोर पनि व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी फोहोर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुग्ने गरेका छन्। मुख्य सडकमा नै कतै फोहोर व्यवस्थापनको काम बाँकी भए वातावरण विभागमा जानकारी दिन पनि प्रमुख राईले नागरिकलाई आग्रह गरिन्।
केही दिनअघि कामनपा प्रमुख बालेन्द्र शाहले फोहोर व्यवस्थापन कार्यमा सहभागी निजी कम्पनीलाई पनि एक साताभित्र सबै फोहोर व्यवस्थापन गर्न दिर्नेशन दिएका थिए। कहिले पानीको कारण बाटो अवरोध त कहिले सिसडोल बञ्चरेडाँडाका स्थानीयका अवरोध गरेपछि विगत दुई महिनादेखि उपत्यकाको फोहर व्यवस्थापन हुन सकेको थिएन।
सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडकनै अवरोध गरी व्यवस्थापनको काममा असहयोग गर्दै आएका छन्।
कामनपाले भने स्थानीयसँग भएको सम्झौता कार्यान्वयनको चरणमा रहेको भन्दै फोहर ढुवानीको सवालमा सहयोग गरिदिन स्थानीयलाई आग्रह गर्दै आएको छ। दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा गत साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो।
हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ। त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन रहेको छ। यसअघि पनि लामो समय फोहर जम्मा भएर बसेको हुनाले अहिले दैनिक तीन सय गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन्। हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ। काठमाडौँका ३२ वडा छन् । यसमा मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ ।