नेपाली समाज बदलिँदो अवस्थामा छ। इतिहासका विभिन्न घटनासँगै नेपाली समाज बदलिइरहेको परिदृश्य आमनेपालीलाई अवगतै छ। नेपालको प्राग–इतिहासदेखि अहिलो घडी र घडीको तारसँगै भविष्यमा फेरिने समाजको रुप, बनोट, संरचना र सञ्चार हेर्दा सकारात्मक र नकारात्मक चेतको मिश्रणलाई प्रश्रय दिइरहेको छ।
डोरबहादुर विष्टलिखित किताब भाग्यवाद र विकासमा उल्लेख गरेअनुरूप तत्कालीन नेपाली समाज भाग्यवादी चिन्तन र व्यवहारले ग्रसित थियो। चाकरी प्रथा र विभेदकारी जातिवादले नेपाली समाज जकडिएको थियो। कर्मचारीतन्त्र, शिक्षा तथा राज्य शासन प्रणालीमा क्यान्सरसरह फैलिएको चाकडीले अंकुश लगाएको थियो। विष्टद्वारा चित्रित नेपाली समाजमा कथित बहुसंख्यक तर यथार्थमा अल्पसंख्यक ठालू वर्गको सामाजिक संरचनाको दोहनलाई उदांगो गरेको पाइन्छ। विश्व प्रसिद्ध किताब ह्वाई नेसन फेल्स्का अनुसार कुनै पनि मुलुकको राज्य शासन र संस्थाको दोहनले उक्त मुलुकलाई फेल बनाउँछ। ईसापूर्व तेस्रो शताब्दीमै चीनले कर्मचारीतन्त्रलाई संस्थागत गरिसकेको थियो। म्याक्स वेबरको मोर्डन स्टेटको परिभाषा र व्याख्याअनुरुप ईसापूर्व तेस्रो शताब्दीमै चीन आधुनिक राज्य बनिसकेको थियो।
तर फ्रान्सिस फुकुयामाको किताब पोलिटिकल अर्डर एन्ड पोलिटिकल डीकेमा उद्धृत गरेअनुसार इतिहासको एक कालखण्डमा पित्रार्जित अभ्यासको सिकार भई चीनको राज्य प्रशासन र प्रणाली फेल भएको थियो। विष्टद्वारा चित्रण गरिएको समाजमा पनि त्यस प्रकारको चाकरी प्रथा, पित्रार्जित अभ्यास र दोहनले धमिराले खाएको खोक्रो काठ भएको थियो।
समाजशास्त्रीय दृष्टिकोणअनुसार समाज सदैव गतिशील र परिवर्तनशील रहन्छ। यो भाव नेपाली समाजका लागि पर्यायवाची तुलिएको छ, जुन सुखद पक्ष हो। हाल नेपाली समाज परिवर्तनको वेगसँगै बदलिइरहेको छ। नेपाली समाजले आफ्नो काँचुली फेरिरहेको छ। समाजशास्त्री चैतन्य मिश्रले नेपाली समाजको घनिभूत शल्यक्रिया गरेका छन्।यस अगाडिको नेपाली समाजको बागडोर सीमित ठालू वर्गको हातमा थियो। तर उक्त ठालू वर्गको हालीमुहाली लोपोन्मुख भएको छ। नेपाली समाजको सामन्ती संरचना कमजोर र मृतप्रायः भएको छ। नागरिकका व्यक्तिगत समृद्धिमा बढोत्तरी र सशक्तीकरण भइरहेको छ। नेपाली समाज व्यक्तीकरण भइरहेको छ।
मिश्रको विश्लेषणमा नेपाली समाजमा गरिखाने वर्ग सघन रूपले बढीरहेको छ। हामी स्वयंले के अनुभूत गर्न सक्छौं भने हरेक नेपालीको घरमा बाउबाजेले गरिखाएको पेसा छोराछोरी र नातिनातिनाले अवलम्बन गर्न छाडिसकेका छन्। नेपाली समाज परम्परागत पेसागतको वृत्तबाट निस्केको छ। अहिलेको समाजको युवाले आफ्नो कर्मको द्रुतमार्ग आफ्नै कर्मले खोतल्छन्। यी प्रयत्नशील युवाहरू ‘सेल्फ–मेड’ बन्ने हुटहुटीले प्रयत्न गरिरहेका छन्। अहिलेको समाजमा बजारोन्मुख क्रय–विक्रयको उर्बर छ। यसर्थ नेपाली समाजमा एउटा छुट्टै वर्गको उदय र आगमन भएको छ।
२०४६ यता नेपाली समाजको सामाजिक सम्बन्ध ‘गेमेंस्चाफ्त्त’ प्रकृति र बनोटबाट ‘गेस्सेल्स्चाफ्त’ तर्फ रुपान्तरण हुँदै छ। हालमा नेपाली सामाजले ‘गेस्सेल्ल्स्चाफ्त’ संरचनाको रूप लिइसकेको छ। सहज भाषामा बुझ्नुपर्दा ‘गेमेंस्चाफ्त्त’ भन्नाले गाउँघरतिरको ग्रामीण समाजमा व्यक्ति–व्यक्तिबीच सामूहिक र प्रत्यक्ष सम्बन्ध हुन्छ। त्यसको ठीक विपरीत ‘गेसेल्ल्स्चाफ्त’ भन्नाले सहरिया र कोठाको चार दिवारपछि फरक–फरक जीविकोपार्जन हुन्छ। सूक्ष्म तहमा हेर्दा यसरी एउटा सामाजिक अवस्थाबाट अर्को सामाजिक अवस्थामा रुपान्तरण हुने संयन्त्रनीय प्रक्रियामा बढ्दो आर्थिक गतिविधि, सामाजिक, सांस्कृतिक तथा राजनीतिक चेतनाले एउटा नयाँ वर्गको निर्माणमा टेवा पु¥याउनुका साथै उत्प्रेरकको भूमिका निर्वाह गरेको छ। यसरी निर्मित नवीन वर्गको आर्थिक, शैक्षिक क्षमता सुदृढ छ।
आर्थिक, शैक्षिक, सामाजिक तथा राजनीतिक गुण तथा विशेषताको आधारमा एउटा नवीन मध्यमवर्गीय वर्गको निर्माण भएको छ। विष्टले चित्रण गरेको नेपाली समाज चाकडीले शिथिल पारेको भाग्यवादी थियो भने यस नवीन मध्यमवर्गीय समाज कर्ममा विश्वास राख्ने कर्मवादी प्रकृतिको छ। यी दुई समाज द्विध्रुवीय छ।
अबको नेपालको राजनीतिक आयाम र नेपाली राजनीतिको भूगोलमा हुने परिवर्तनको निर्धारक तत्त्व यसै नवीन मध्यम वर्ग हो। आर्थिक विकासको क्रमसँगै उदीयमान यस नवीन मध्यम वर्ग र नवीन पीँढीको इच्छा, आकांक्षा र अपेक्षा यसभन्दा अगाडिको पुरानो पीँढीको दाँजोमा ब्रह्माण्डीय छ। यस पीँढीलाई केवल डेलिभरीसँग सरोकार छ। केवल डेलिभरीको मात्र हिसाब–किताब राख्छ र मतलब गर्दछ। डेलिभरी यस पीँढी वा नवीन मध्यम वर्गका लागि वाञ्छनीय छ। यस वर्गले डेलिभरीमा चुक्ने सरकार र राज्य प्रशासनप्रति शून्य–सहिष्णुता राख्दछ।
उदाहरणका लागि आर्थिक विकाससँगै तुर्की र ब्राजिलमा पनि नयाँ मध्यम वर्गको सिर्जना भएको छ। डेलिभरीमा यी मुलुकका नेतृत्व चुकेकाले सन् २०१३ मा तुर्की र ब्राजिलमा जनसागरको विरोध तथा प्रदर्शन भएको थियो। तुर्कीका तत्कालीन प्रधानमन्त्री एर्दोगनले युवा पुस्तालाई रिझाउन नसक्दै गर्दा र ब्राजिलका राष्ट्रपति दिलमा रौस्सेफको सरकारले विश्वकपमा खर्बौं रकम खर्च गर्दै गर्दा जनताका आधारभूत आवश्यकता पूर्ति गराउन नसक्नुका साथै मुलुक चरम भ्रष्टाचारमा गुज्रिइरहेको थियो। यी दुवै मुलुकमा नवनिर्मित मध्यम वर्गले सरकारको ‘डेलिभरी’ मा अकर्मण्यविरुद्ध बेजोडको प्रदर्शन गरेका थिए। अन्ततः नेपालको अबको सामाजिक तथा राजनीतिक यात्रा यसै नयाँ मध्यम वर्गले तय गर्नेछ।