काठमाडौं- नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका छन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनी एमाले अध्यक्ष केपी ओलीमाथि खनिए। पत्रकार सम्मेलन उनले ओलीमाथि व्यंग्य गरिएको कविताबाट सुरुवात गरे।
रावलले आफू एमालेमा रहँदा विभिन्न भूमिकामा गरेका कामको फेहरिस्त पनि सुनाए। आफूले सधैं इमान्दार र कर्तव्यनिष्ठ भएर काम गरेको उनले बताए। एमालेमा आफूले सधैं संघर्ष गरेको उनले स्मरण गरे।
आफ्नो व्यक्तिगत स्वार्थ केही पनि नभएको बताएका रावलले स्वदेश र विदेशमा रहेका नेपालीहरूको भविष्य सुन्दर बनाउनका लागि भने आफू कटिबद्ध रहने बताए। उनले देश र विदेशमा रहेका नेपालीहरूलाई मुलुक बनाउने अभियानमा समाहित हुन आह्वान गरे।
एमालेले नभई केपी ओली गुटले कारबाही गरेर पार्टीबाट आफू निकालिएको बताएका रावलले सदस्यता नै खोसिएपछि विकल्प खोज्न बाध्य भएको जिकिर गरे। आफूमाथि पूर्वाग्रह राखेर कारबाही गरिएको उनको दाबी थियो।
रावलले ओली आफैं प्रतिगामी भनेकाहरुसँगको साँठगाँठमा रहेको आरोप लगाए। ओलीको निर्णयविरुद्ध प्रश्न उठाउने र देशभक्तहरुलाई निरंकुश शैलीमा हटाउन थालिएको उनले बताए।
उनले भने, ‘निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यको रुपमा जीवन पर्यन्त रहिरहने मेरो अवस्था रहेन। त्यसैले आज देश र जनताको हितको लागि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ।’
उनले सत्ता र पद हत्याउने होडको कारणले ठूला दलहरु सिद्धान्तहीन, गन्तव्यहीन बाटोमा लागेको टिप्पणी पनि गरे।
रावलले ओलीले कारबाहीको प्रस्ताव गर्दा ७ जना नेताले विरोध गरेको बताए। कारबाहीको विरोधमा सचिवालय बैठकमा आफ्नो मत राख्ने नेताहरुलाई उनले धन्यवाद दिएका छन्।
पत्रकार सम्मेलनमा उनले भने, ‘पार्टीको गरिमामाथि धब्बा नलागोस् भनि अभिव्यक्ति दिनुहुने स्थायी कमिटीका सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिलाई निलम्बन गरियो। मलाई पार्टीको सदस्यबाटै हटाइयो । केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा त्यसको विरोध गर्ने ७ जना नेतालाई धन्यवाद।’
रावललाई कारबाही र दुई नेतालाई निलम्बन गर्ने प्रस्ताव हुँदा नेताहरु अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतले विरोध गरेका थिए।
रावलले दशौं महाधिवेशनमा आफू अध्यक्षमा उठ्दा केपी ओलीले किन उठेको भनेर प्रश्न गरेको भन्दै ओलीलाई आठौं र नवौं महाधिवेशनमा माधव नेपाल र झलनाथ खनालसँग अध्यक्षमा प्रतिस्पर्धा गर्न किन उठेको भनेर प्रतिप्रश्न गरे। उनले आफूले पार्टीमा लामो योगदान गरे पनि पार्टी सदस्य नै नरहने गरी निष्कासन गरेर आफ्नो ५१ वर्षको राजनीतिक जीवनमा समाप्त पार्न खोजेको गुनासो गरे। कुनै ठाउँमा जन्मेको, शिक्षा भएको र कुनै थर भएकोले मात्र अध्यक्षमा उठ्नुपर्ने हो भन्दै रावलले ओलीलाई प्रश्न गरे।
उनले भ्रष्ट, दलाल र अनैतिकहरूसँग साँठगाँठ गरी ओलीले देशमा सुशासन र समाजवाद ल्याउने कुरा गर्नु पत्याउन नसकिने बताए। उनले जनताको हित र सिद्धान्तमा चल्नेलाई पार्टीबाट निकाल्ने, प्रतिनिधि सभाको टिकट नदिने, पार्टीका काममा सहभागी हुन नदिएर ओलीले गुट चलाएको बताए। उनले ओलीको यस्तो शत्रुवत् व्यवहार जबजको मान्यता विपरीत रहेको बताए।
उनले आफूसँग अन्य नेताहरूसँग छलफल गरेर ओलीसँग पटकपटक वार्ता गर्ने प्रयास गर्दा उनले समय नदिएको समेत बताए। उनले भीम रावलले कुरा गर्न नचाहेको ओलीको भनाइ कुप्रचार रहेको बताए।