काठमाडौं- राजनीतिमा विरासतले बाटो देखाउन सक्छ, तर नेतृत्व स्थापित गर्न आफ्नै क्षमता, विचार र कर्मको परीक्षा उत्तीर्ण गर्नुपर्छ। स्वर्गीय नवीन्द्रराज जोशीको राजनीतिक जीवनसँग जोडिएको नाम हो, सपना राजभण्डारी जोशी। तर उनको परिचय केवल एक सिद्धान्तनिष्ठ नेताकी जीवनसङ्गिनीमा सीमित छैन। सामाजिक सेवाबाट संसदीय राजनीतिसम्मको यात्रा तय गरेकी उनी अहिले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आदिवासी जनजाति महिलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छन्। उनको उम्मेदवारीमा एउटा राजनीतिक विरासतको निरन्तरता मात्र होइन, एउटा अधुरो सपना पूरा गर्ने जिम्मेवारी, आफ्नै अनुभव, प्रतिबद्धता र नेतृत्व क्षमतालाई पार्टीको निर्णायक तहमा स्थापित गर्ने आकाङ्क्षासमेत प्रतिबिम्बित हुन्छ।
राजनीति केवल सत्ताको अभ्यास होइन, समाजको आवश्यकता बुझ्ने र त्यसलाई सम्बोधन गर्ने जिम्मेवारी पनि हो। यही मान्यतालाई आत्मसात् गर्दै सपना राजभण्डारी जोशीले आफ्नो सार्वजनिक जीवनमा सामाजिक सरोकार, महिला सहभागिता र समुदायको अधिकारका विषयलाई प्राथमिकतामा राख्दै आएकी छन्। उनको राजनीतिक यात्राको एउटा महत्त्वपूर्ण आधार स्वर्गीय नवीन्द्रराज जोशीले स्थापित गरेको इमान र निष्ठा, सादगी र जनउत्तरदायित्वसहितको राजनीतिक संस्कार हो।
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी काठमाडौँ महानगरपालिकाको उपप्रमुख, संविधानसभा सदस्य, उद्योगमन्त्री र पार्टीको केन्द्रीय नेतृत्वमा रहँदा विकास, उद्यमशीलता र सुशासनका विषयमा स्पष्ट दृष्टिकोण राख्ने नेताका रूपमा परिचित थिए। पद र प्रतिष्ठाभन्दा जनताको विश्वासलाई महत्त्व दिने उनको राजनीतिक शैलीले काठमाडौँको राजनीतिक वृत्तमा विशिष्ट पहिचान बनाएको थियो। २०७७ चैत १३ गते उनको निधनले नेपाली राजनीतिमा एउटा निष्ठाको अभाव खड्कियो। तर उनले अघि सारेका विचार र सार्वजनिक जीवनमा देखाएको इमानले उनको राजनीतिक योगदानलाई आज पनि स्मरणीय बनाएको छ।
नवीन्द्रराजको निधनपछि उनको राजनीतिक तथा सामाजिक अभियानलाई निरन्तरता दिने जिम्मेवारीसँगै सपना राजभण्डारी जोशीको सार्वजनिक भूमिकासमेत थप सक्रिय बन्यो। जीवनका सुखदुःखमा सँगै हिँडेकी सहयात्रीका रूपमा मात्र होइन, आफ्नै राजनीतिक दृष्टिकोण र सामाजिक प्रतिबद्धतासहित उनी अघि बढिन्। प्रतिनिधिसभा सदस्यका रूपमा उनको संसदीय उपस्थिति यस यात्राको महत्त्वपूर्ण उपलब्धि हो। उनले सांसद् रहँदाको समयलाई महिला, आदिवासी जनजाति, सीमान्तकृत समुदाय र सामाजिक न्यायको वकालत गर्ने कुरामा सदुपयोग गरिन्।
संसदीय राजनीतिले उनलाई नीति निर्माण, राज्य सञ्चालन र जनप्रतिनिधिको उत्तरदायित्वलाई नजिकबाट बुझ्ने अनुभव दियो। जनताका आवश्यकता र राज्यका प्राथमिकताबीचको दूरी घटाउन राजनीतिक नेतृत्व कति संवेदनशील हुनुपर्छ भन्ने प्रश्न उनको राजनीतिक यात्राको केन्द्रमा देखिन्छ। संसद् र पार्टी संगठनबीचको सम्बन्धलाई बलियो बनाउँदै जनताका आवाजलाई नीतिगत तहसम्म पुर्याउनु उनको आगामी राजनीतिक यात्राको महत्वपूर्ण संकल्प हो।
काठमाडौंको नेवार समुदायसँग जोडिएको उनको सामाजिक र सांस्कृतिक पृष्ठभूमिले पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षणप्रतिको सरोकारलाई थप अर्थपूर्ण बनाएको छ। नेपालको विविधतापूर्ण समाजमा आदिवासी जनजाति समुदायको प्रतिनिधित्व केवल संख्यात्मक सहभागिताको विषय होइन। उनीहरूको भाषा, संस्कृति, परम्परा, आर्थिक अवसर र निर्णय प्रक्रियामा समान पहुँच सुनिश्चित गर्नु समावेशी लोकतन्त्रको आधार हो। त्यसैगरी, राजनीतिक दलभित्र महिलाको सहभागिता उपस्थितिमा मात्र सीमित नभई निर्णय निर्माण र नेतृत्वमा समेत स्थापित हुनुपर्ने आवश्यकता छ।
सपना राजभण्डारी जोशीको केन्द्रीय सदस्य पदको उम्मेदवारी यही राजनीतिक आवश्यकताको उपज हो। आदिवासी जनजाति महिलाका सवाललाई पार्टीको नीति, कार्यक्रम र संगठनात्मक निर्णयमा प्रभावकारी रूपमा समेट्ने अवसरका रूपमा उनको उम्मेदवारीलाई हेरिएको छ। समावेशिताको संवैधानिक र राजनीतिक प्रतिबद्धतालाई व्यवहारमा उतार्न पार्टीको केन्द्रीय तहमा विविध समुदायको अर्थपूर्ण प्रतिनिधित्व आवश्यक छ। यस दृष्टिले उनको उम्मेदवारी एउटा व्यक्तिगत राजनीतिक प्रतिस्पर्धाभन्दा व्यापक संगठनात्मक बहससँग सम्बन्धित छ।
सामाजिक सेवाको क्षेत्रमा उनको सक्रियता पनि राजनीतिक व्यक्तित्व निर्माणको अर्को महत्त्वपूर्ण पक्ष हो। विशेषतः कोभिड–१९ महामारीजस्ता सङ्कटपूर्ण समयमा समुदायमा देखिएको मानवीय आवश्यकता र असहजतालाई सम्बोधन गर्न उनले देखाएको तदारुकता एउटा उदाहरण हो। नवीन्द्रराज जोशीको स्मृतिसँग जोडिएका सामाजिक अभियान तथा विभिन्न सामुदायिक गतिविधिमार्फत शिक्षा, स्वास्थ्य, सीप विकास र युवाको अवसर विस्तारजस्ता विषयलाई प्राथमिकता दिनुपर्ने आवाज उनले निरन्तर उठाइरहेकी छन्। समाजसेवाको वास्तविक अर्थ तत्कालीन राहतमा मात्र सीमित नभई मानिसलाई आत्मनिर्भर बनाउने अवसर सिर्जना गर्नु पनि हो भन्ने दृष्टिकोणले उनको सामाजिक भूमिकालाई थप उजगार गर्दछ।
काठमाडौंका ऐतिहासिक बस्ती, सम्पदा, जात्रा, डबली, मठमन्दिर र परम्पराको संरक्षण उनको सार्वजनिक चासोको अर्को महत्त्वपूर्ण क्षेत्र हो। ती सम्पदा केवल विगतका स्मृति होइनन्, सहरको मौलिक पहिचान र भावी पुस्ताको सांस्कृतिक सम्पत्ति पनि हुन्। ती सम्पदाको संरक्षणसँगै सहरी विकास, वातावरणीय सन्तुलन र स्थानीय समुदायको जीवनस्तर सुधारलाई जोडेर हेर्नुपर्ने आवश्यकता उनले उठाउँदै आएकी छन्। विकास र पहिचानबीच सन्तुलन कायम गर्ने यही सोचले उनको राजनीतिक सरोकारलाई स्थानीय सीमाभन्दा फराकिलो बनाउँछ।
नेपाली कांग्रेसको संगठनात्मक जीवनमा लामो समयदेखि सक्रिय रहँदै आएकी सपना राजभण्डारी जोशीका लागि १५औँ महाधिवेशनको उम्मेदवारी पार्टीभित्रको थप भूमिकाको खोजीको परिणाम हो। तर केन्द्रीय नेतृत्वमा पुग्नुको अर्थ केवल पद प्राप्त गर्नु मात्र होइन। पार्टीका नीति तथा कार्यक्रमलाई समावेशी बनाउने, महिला र युवा कार्यकर्तालाई निर्णय प्रक्रियामा सहभागी गराउने, संगठनलाई जनताको बदलिँदो अपेक्षाअनुसार रूपान्तरण गर्ने र राजनीतिक विश्वसनीयता पुनःस्थापित गर्ने चुनौती पनि त्यससँगै जोडिन्छन्।
आज नेपाली कांग्रेससहित मुलुकका राजनीतिक दलहरू जनताको विश्वास, नेतृत्वको जवाफदेहिता र आन्तरिक लोकतन्त्रका प्रश्नसँग जुधिरहेका छन्। यस्तो समयमा राजनीतिक निष्ठाको चर्चा विगतको स्मरणमा मात्र सीमित हुनु हुँदैन। त्यसलाई वर्तमानको कार्यशैली र भविष्यको परिणामसँग जोड्न सक्नुपर्छ। नवीन्द्रराज जोशीको राजनीतिक जीवनबाट प्राप्त प्रेरणालाई आफ्नै नेतृत्व, निर्णय र काममार्फत प्रमाणित गर्ने यात्राको एक अध्यायको रुपमा उनको उम्मेदवारी आएको छ।
उनको राजनीतिक यात्रामा विगतको विरासत एउटा बलियो आधार हो, संसदीय अनुभव एउटा पुँजी हो र सामाजिक सरोकार एउटा पहिचान। अब यी तीनै पक्षलाई पार्टीको नीतिगत तथा संगठनात्मक रूपान्तरणमा कति प्रभावकारी रूपमा उपयोग गर्न सक्छिन् भन्ने प्रश्नले उनको नेतृत्वको वास्तविक मूल्याङ्कन गर्नेछ। आदिवासी जनजाति महिलाको प्रतिनिधित्वलाई अर्थपूर्ण बनाउँदै समावेशी लोकतन्त्रको अभ्यासलाई बलियो पार्ने अवसर पनि यही यात्रामा निहित छ।
राजनीतिक विरासतको अर्थ सबैभन्दा सुन्दर पक्षलाई जस्ताको तस्तै दोहोर्याउनु होइन, समयको आवश्यकता बुझेर त्यसमा नयाँ अर्थ र ऊर्जा थप्नु हो। नवीन्द्रराज जोशीले देखेको इमानदार र जनउत्तरदायी राजनीतिको अधुरो सपनाको पूरा गर्ने जिम्मेवारी सपना राजभण्डारी जोशीको काँधमा छ। उनले भनेकी छन्, “ मेरो उम्मेदवारी राजनीतिप्रतिको जनविश्वासलाई जोगाउने र प्रतिनिधित्वलाई परिणाममा परिणत गर्नका लागि हो। यसलाई आम महाधिवेशन प्रतिनिधिहरुले निर्णय गर्नुहुनेछ।”