सोमबार, जेठ २६, २०८२

कोशी प्रदेशकै लामो झोलुंगे पुलमा पर्यटकको घुइँचो

 |  बिहीबार, पुस १८, २०८१
nespernesper

चन्द्रकला भण्डारी

चन्द्रकला भण्डारी

बिहीबार, पुस १८, २०८१

vianetvianet

झापा- पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन्। हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरु फोटो र श्रव्यदृश्य खिचिरहेका छन्।

यो दृश्य झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा नवनिर्मित झोलुङ्गे पुलको हो। जहाँ पुल हेर्ने पर्यटकको घुइँचो लागेको छ। पूर्वी नेपालको विभिन्न जिल्ला र भारतको सिक्किम तथा पश्चिम बङ्गालबाट समेत उक्त पुल हेर्न पर्यटक आउने गरेका छन्।

बुद्धशान्ति–६ र ७ को दुई वटा गाउँ कोल्बुङ र रमिते गौडाबासीलाई टिमाईको गहिरो गल्छी छिचोल्न सहज बनोस् भनेर निर्माण गरिएको चार सय ७७ मिटर लामो डी आकारको झोलुङ्गे पुल कोशी प्रदेशकै लामो भएका कारण हेर्न, फोटो खिच्न र टिकटक बनाउन टाढादेखि पर्यटक आउन थालेका हुन्। वडा नं ७ का वडाध्यक्ष चन्द्रप्रसाद भण्डारीले पुलमा नसोचेको सङ्ख्यामा पर्यटक आउन थालेका बताए।

“वल्लो डाँडाबाट पल्लो डाँडासम्म फलामे लट्ठामा अडिएको झोलुङ्गे पुल हेर्दै पर्यटक रमाउने गरेका छन्,” वडाध्यक्ष भण्डारीले भने, “बर्ने, सुनमाई, चारआली र धुलाबारीको बाटो हुँदै पुल हेर्न आउने पर्यटक दिनहुँ बढिरहेका छन्।” पर्यटकले यहाँ टिकटक बनाउने गरेका छन्।

दैनिक तीन सयदेखि पाँच सय जना पुल हेर्न आउँदा झोलुङ्गे पुल बनेको वारिपारिको क्षेत्रमा पर्यटकीय चहलपहल बढेको छ। बिदाका दिन पाहुनाको सङ्ख्या दोब्बर हुने गरेको छ। पर्यटकको मागअनुसार स्थानीय बस्ती, सडक र पुलको छेउछाउ खाजा तथा नास्ता बिक्री गर्ने साना होटल खुलेका छन्। चटपटे, पानीपुरी र मौसमी फलफूल बेच्ने अस्थायी पसल ह्वात्तै बढेको र स्थानीयवासीको आम्दानीसमेत वृद्धि भएको वडाध्यक्ष भण्डारीले बताए।

National life insurance

सङ्घीय सरकारको रु पाँच करोड ९८ लाखको लागतमा पुल निर्माण भएको स्थानीय पूर्वाधार विभागको सस्पेन्सन ब्रिज डिभिजनका इन्जिनियर जयप्रसाद गुप्ताले बताए।

झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत असार २४ गते शिलान्यास गरेको सो पुलको पाँच महिनामै निर्माण कार्य सम्पन्न भएको हो। यसको उद्घाटन हुन बाँकी नै छ। यही पुस २५ गते झोलुङ्गे पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताए।

झापा र इलामको सीमामा रहेको टिमाई नदी गहिरो गल्छीका कारण पहिल्यैदेखि चर्चित छ। त्यहाँ पर्यटकीय आकर्षणका लागि बन्जी जम्प सञ्चालन हुनुपर्ने माग छ। वनभोज खान र नजिकैको पर्यटकीय क्षेत्र धारागोला र ठुटेबर घुम्न जानेको सङ्ख्या पनि अत्यधिक छ। अहिले आँखाले भ्याएसम्मको लामो झोलुङ्गे पुलले पर्यटकहरुको ध्यान खिच्न सफल भएको छ। नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको ठाउँको नयाँ नामकरण गरेर पूर्वाधारहरु थप्ने पालिकाको योजना रहेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष प्रसाईंले बताए।

हाल पुलको नाम ‘कोलबुङ्गे गौडा रमिते गौडा झोलुङ्गे पुल’ रहेको छ। पुल बनाउनुअघि स्थानीय गाउँलेको भाषामा गौडा जोडेर परियोजनाको नाम जुराइएको थियो। तर नाम लामो भएकाले पालिकाले नयाँ नाम दिन लागेको प्रसाईंले बताए। पुलको वडा नं ७ तर्फको किनारामा रु चार करोड ५० लाखको बजेटमा बुद्धशान्ति हरित उद्यान निर्माण कार्य अघि बढाइएको छ। पालिकाको पहल र सङ्घीय सरकारको बजेटमा सो उद्यान निर्माण थालिएको र त्यसबाट पुल हेर्न र घुम्न आउने पर्यटकका लागि समय बिताउने रमणीय स्थान बन्ने उनको भनाइ छ।

पुलको केही किलोमिटर वरपर धारागोला भ्यूटावर, जरेबर, ठुटेबर, गौडालगायतको पहिल्यैदेखिका प्रख्यात पर्यटकीयस्थल रहेका कारण पुलमा आउने पर्यटक आगामी दिनमा झनै बढ्ने सम्भावना रहेको वडा नं ६ का अध्यक्ष शिवराज पौडेल बताउँछन्।

काठमाडौँको थानी-जगदम्बा जेभीले निर्माण गरेको उक्त झोलुङ्गे पुलको भारवहन क्षमता ९० मेट्रिक टन रहेको छ। स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन ब्रिज डिभिजनको शिलालेखमा पुलले एकपटकमा ६ सय ४७ पदयात्रीको भार थेग्ने क्षमता राख्ने उल्लेख छ।

पर्यटकको भीड बढ्दै जाँदा पुल हल्लिएर पदयात्री तर्सिने र दुर्घटना निम्तिन सक्नेतर्फ समेत ध्यान दिनुपर्ने आवाज उठ्न थालेको छ। पालिकाले पुलमा आउजाउ गर्ने पर्यटकको भीडको रेखदेख र अनुगमन गर्नका लागि सुरक्षागार्डको व्यवस्था मिलाउनुपर्ने झापाको कचनकबल–४ बाट पुल हेर्न आउनुभएकी १७ वर्षीया जसोदा राजवंशीले सुझाव दिएकी छन्।

प्रकाशित: Jan 02, 2025| 09:31 बिहीबार, पुस १८, २०८१
प्रतिक्रिया दिनुहोस्