सोमबार, चैत २, २०८२

पढाइले प्रौढ महिलाहरूको आत्मविश्वास बढ्यो

अंक अक्षर लेख्न, पढ्न र चिन्न नसकेका कारण धेरै ठक्कर पाएकी म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटकी संगिता छिनालको अहिले आत्मविश्वास बढेको छ।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

म्याग्दी- अंक अक्षर लेख्न, पढ्न र चिन्न नसकेका कारण धेरै ठक्कर पाएकी म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटकी संगिता छिनालको अहिले आत्मविश्वास बढेको छ। 

National life

उज्यालो वैकल्पिक विद्यालयको १० कक्षामा पढ्ने संगीतालाई शिक्षा हाँसिल गरेपछि शहरका चोकमा गएर ठाउँ नचिन्दा अल्मलिनुपर्ने, मोबाइल चलाउन अरुको सहायता लिनुपर्ने समस्या हटेको छ। 

‘बिहे गर्दा १ कक्षासम्म मात्र पढेको थिएँ, एबीसी लेख्न पनि जानेको थिइनँ। कुनै शहरमा जाँदा कहाँ आइपुगेको छु भन्ने बुझ्न अरुलाई सोध्नुपर्दथ्यो। निकै समस्या हुन्थ्यो,’ उनले भने, ‘अंग्रेजीबाट नाम लेख्ने र लेखेको कुरा पढ्न सक्ने भएको छु। अरुले बोलेको बुझ्न सक्छु। पहिलेभन्दा अहिले धेरै सजिलो भएको र खुशी लागेको छ।’

संगीता जस्तै विद्यालय जाने उमेरमा पढ्न नपाएका र बीचैमा पढाइ छाडेकाहरूका लागि बेनीको उज्यालो वैकल्पिक विद्यालय एसईई तहसम्मको शिक्षा हाँसिल गर्ने थलो बनेको छ। ८ वर्षअघि स्थापना भएको विद्यालयमा हालसम्म १०० जनाभन्दा बढीले पढेका छन्। 

९ जनाले पछिल्लो २ वर्षमा एसईई उत्तीर्ण गरेका छन्। हाल विभिन्न कक्षामा पढ्ने ४० जना सबै महिला छन्। भर्ना भएका केही विद्यार्थीले लेखपढ गर्न जानेपछि पढाइलाई निरन्तरता दिएनन्। घरायसी कामधन्दा सकेर झोलाभरी कापी किताब बोकेर बिहान ११ बजे विद्यालय आउने आमाहरू दिउँसो ३ बजे घर फर्कन्छन्। 

Laxmi sunrise bank
kumari

‘खेती किसान, घरको व्यवहार, घाँस, दाउरा गर्ने चलन थियो। इच्छा भएर पनि पढ्न पाइएन,’ १० कक्षामा पढ्ने ५० वर्षीय डिलकुमारी पुनले भनिन्, ‘बालबच्चाले पढेर सके। अहिले फुर्सद मिल्यो। उमेर ढल्किएकाले गाह्रो भए पनि पाएको अवसर सदुपयोग गरेर एसईई उत्तीर्ण गर्ने लक्ष्य राखेकी छु।’

भर्ना हुन आउने विद्यार्थीको क्षमता पहिचान गरी कक्षामा राख्ने र पढाउने गरिएको छ। तत्कालीन शिक्षा कार्यालय मार्फत बेनी सामुदायिक माविलाई मातृ विद्यालय मानेर स्थापना भई समुदाय स्तरबाट विद्यालय सञ्चालन गरिएको हो। 

७ जना शिक्षकहरूको तलबभत्ता बेनी नगरपालिकाले उपलब्ध गराउने यस विद्यालय सञ्चालनमा स्थानीयवासी, विभिन्न संघसंस्था र प्रवासीहरुले पनि सहयोग गरेका व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष राजेश शाक्यले बताए।

‘१६ वर्षभन्दा बढी उमेरका बिचैमा पढाइ छाडेकाहरूका लागि स्थानीय युवाहरूको अग्रसरतामा विद्यालय सञ्चालन गरेका हौं,’ उनले भने, ‘बेनी सामुदायिक माविलाई मातृ विद्यालय बनाएका छौं। विज्ञान र कम्प्युटर ल्याब स्थापना गर्न सामाजिक विकास मन्त्रालयले सहयोग गरेको थियो।’

सामाजिक विकास कार्यालयको भवनमा सञ्चालन भएको विद्यालयमा आफ्नै पूर्वाधार, दीगो आर्थिक स्रोतको अभाव तथा शिक्षकहरूलाई तालिमको आवश्यकता देखिन्छ। शुरूआती चरणमा बेनी पुस्तकालयको भवनमा कोठा भाडामा लिएर कक्षा सञ्चालन गरिएको विद्यालय ३ वर्षअघि तत्कालीन महिला तथा बालबालिका कार्यालयको खाली भवनमा सारिएको थियो।  रासस

प्रकाशित: Aug 24, 2022| 07:11 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्