काठमाडौं- नेपाल प्रहरीले सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर शृङ्खलाबद्ध ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय सञ्जय तामाङ र सोही स्थानका ३१ वर्षीय विष्णु तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
उनीहरुलाई रु १५ लाख बराबरको अमेरिकी डलर साट्न लागेको अवस्थामा काठमाडौँको टोखा नगरपालिकास्थित युनिक कोलोनीबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
पक्राउ परेका उनीहरुले पीडित व्यक्तिलाई पटकपटक फोनमार्फत सम्पर्क गरी अवैध अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटिदिने प्रलोभनमा पारी सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका विभिन्न स्थानमा बोलाई लाखौँ रुपैयाँ लुटपाट गरेको अनुसन्धानमा खुलेको छ।
पक्राउ परेका उनीहरुलाई ठगी एवं विदेशी विनिमय ऐनअन्तर्गत मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाएको प्रहरीले जनाएको छ।