काठमाडौं– गृह मन्त्रालयद्वारा मिटरब्याजीबारे छानबिन गर्न गठित कार्यदलले हालसम्म देशभरका स्थानीय प्रशासनमा १,९३७ उजुरी परेको विवरण सार्वजनिक गरेको छ।
कार्यदलले ५ भदौभित्र उजुरी दिन आग्रह गरेको थियो। मन्त्रालयको आग्रहपछि १,९३७ वटा उजुरी दर्ता भएको कार्यदल संयोजक सह–सचिव डा. भीष्मकुमार भुसालले बताए।
गृहमन्त्री बालकृष्ण खाणले २८ साउनमा गठन गरेको कार्यदलमा प्रहरीका एसएसपी दिनेश आचार्य, उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य छन्।
मिटरब्याजीबाट सबैभन्दा पीडित भएको उजुरी मधेस प्रदेशबाट परेको छ। मधेसमा १,३३० वटा उजुरी परेको कार्यदलका संयोजक भुसालको भनाइ छ। बागमती प्रदेशमा २०२, लुम्बिनीमा २११, प्रदेश १ मा ९२, गण्डकीमा ३५, कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेको छ।