काठमाडौं– ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्न बुधबारदेखि नेपाल र बंगलादेशबीच ऊर्जा सचिवस्तरीय विज्ञ समूहको बैठक बस्दै छ।
बैठकमा सहभागी हुन बंगलादेशका ऊर्जा विकास विभागका सचिव मो. हविबुर रहमान नेतृत्वको टोली नेपाल आइपुगेको छ।
नेपाल–बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्यका लागि स्थापित संयन्त्रको चौथो संस्करणको बैठकमा नेपालको विद्युत् बंगलादेशमा बिक्री गर्ने र जलविद्युत् विकासका लागि बंगलादेशको लगानी भित्र्याउने विषयमा केन्द्रित रहने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बताएको छ।
बैठकमा नेपाली पक्षको नेतृत्व ऊर्जा सचिव सुशीलचन्द्र तिवारीले गर्नेछन्।
बंगलादेशले नेपालको जलाशययुक्त सुनकोसी जलविद्युत् आयोजनामा लगानी गर्ने चासो देखाउँदै आएको छ। सचिव रहमानसहितको टोलीले प्रस्तावित निर्माण स्थलको अवलोकन भ्रमण गर्दै छ।
मन्त्रालयका ऊर्जा महाशाखा प्रमुख मधुप्रसाद भेटवालका अनुसार दुई दिने बैठकमा सुनकोसी जलविद्युत् आयोजनामा लगानी गर्ने मोडालिटीका विषयमा छलफल हुनेछ।
भेटवाल र बंगलादेशी समकक्षी महसिन चौधरी नेतृत्वको टोलीबीच बुधबार एजेन्डाबारे छलफल गरी बिहीबार हुने सचिवस्तरीय बैठकमा पेस गरिनेछ।
बंगलादेशले नेपालबाट ५ हजार मेगावाटसम्म विद्युत् लैजाने घोषणा गरिसकेको छ। तर नेपालको विद्युत् बंगलादेश लैजान भारतीय भूमि हुँदै प्रसारण संरचना प्रयोग गर्नुपर्नेछ।
बैठकमा भारतसँग त्रिपक्षीय संवाद गर्ने र निष्कर्ष निकाल्ने विषयमा छलफल हुने बताइएको छ।
गत वर्ष भदौमा भएको तेस्रो भर्चुअल बैठकमा नेपाल र भारतका ऊर्जा सचिवबीच विद्युत् व्यापारका लागि छुट्टै संरचना बनाउने विषयमा छलफल भएको थियो।
विद्युत् निर्यात गर्ने लक्ष्यसहित निर्माणको तयारीमा रहेको ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको ५०० मेगावाट विद्युत् पनि बंगलादेशलाई बिक्री गर्ने योजना आयोजना प्रवद्र्धक भारतीय कम्पनी जीएमआरको छ।