काठमाडौं- कोटेश्वरमा एक बसमाथि तोडफोडको प्रयास भएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले बसमा ढुंगा प्रहार गरेका छन्।
बन्दको अवज्ञा गरेको भन्दै चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाका कार्यकर्ताले बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ।
बिहान साढे ६ बजे बन्दकर्ता पाँच जनाको समूहले एक्कासि महानगर यातायातको बा४च ९३९४ नम्बरको बस तोडफोड गरेको प्रहरीको भनाइ छ।
कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै उक्त बसमाथि राष्ट्रिय बाणिज्य बैंक अगाडि गाडीमा ढुंगा प्रहार भएको थियो। ढुंगा प्रहारबाट बसको अगाडिको सिसा फुटेको छ।
प्रहरीले काठमाडौं उपत्यकाबाट १८ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ।