दाङ- दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन्। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिप्परमा बिहान करिब साढे ४ बजे तिर बबई खोलाको पुल नजिक आगजनी भएको हो।
चार/पाँच जनाको समूहमा रहेका व्यक्ति टिप्परको अघिल्लो भागमा आगो लगाएर भागेका थिए। आगजनीबाट टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ।
घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए।
चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव, नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितको पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आह्वान गरेका हुन्।
तीन बुँदे राजनीतिक सहमति विपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महँगीका विरुद्ध देशैभर बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ।




