काठमाडौं- मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश झा (अहिराज)लाई काठमाडौं महानगरपालिका वडा नम्बर १० ले पत्र काटेको छ। धोबीखोला किनारको जग्गा हडपेर घर बनाएको भन्दै वडा कार्यालयले पूर्वप्रमुख झालाई पत्र काटिएको हो।
वडाध्यक्ष रामकुमार केसीले १५ दिनभित्र सप्रमाण उपस्थित हुन झालाई पत्र लेखेका छन्। झाले काठमाडौं महानगरपालिका-१० देवीनगरस्थित धोबीखोला करिडोरको सिट नम्बर १०२-११४६-०२ को कित्ता नम्बर ४३१ को सरकारी जग्गा हडपेर २ तले घर बनाई भाडामा लगाएका छन्।
‘काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित सिट नम्बर १०२-११४६-०२ को कित्ता नम्बर ४३१, ४३२, ७३८ र ७३९ को सरकारी/सार्वजनिक जग्गा अतिक्रमण गरी घर/टहरा र कम्पाउन्डसमेत निर्माण गरेको भन्ने उजुरी परी यथार्थ विवरण पेस गर्न पत्रचार भएकोले उल्लेखित कित्ता नम्बरका जग्गा सरकारी/सार्वजनिक हो/होइन? साथै तपाईंले अतिक्रमण गरी घर/टहरा/कम्पाउण्ड निर्माण गर्नुभएको छ/छैन?,' वडाध्यक्ष केसीले झालाई काटेको पत्रमा उल्लेख छ, 'सो सम्बन्धमा बुझ्नुपर्ने भएकोले तपाईंसँग जग्गासम्बन्धी भएका प्रमाणसहित १५ दिनभित्र वडा कार्यालयमा उपस्थित हुन अनुरोध गर्दछु। त्यस उप्रान्त कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारी गराउँछु।'