काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले मिटरब्याज लिएर जनता ठग्नेहरुलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने बताएका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाणले यस्तो बताएका हुन्।
मिटरब्याजमा जनतासँग पैसा ठग्ने मिटर ब्याजीहरुलाई स्थानीय अनुसन्धान नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले प्रमुख प्राथमिकता राखेर काम गर्ने समेत उनले बताए। वर्तमान सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै मिटरब्याजीलाई कानूनी कारबाहीको दायराभित्र ल्याउने र मिटरब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति लिएको उल्लेख गरेका थिए।
'विभिन्न प्रदेश र जिल्लामा गरी १९ सय ३७ वटा मिटर ब्याजबाट ठगीका उजुरी परेको उनले जानकारी दिए। मन्त्री खाँणले प्रदेश १ मा ९२ वटा, मधेश प्रदेशमा १ हजार ३३०, बागमतीमा २०२, गण्डकीमा ३५, लुम्बीनीमा २११, कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेका छन्,' मन्त्री खाणले जानकारी दिए।
मिटरब्याजीलाई अनुसन्धान गरी कारबाही गर्नको लागि मन्त्रालयले कार्यदल बनाएर अनुसन्धान गरिरहेको उनले स्मरण गराएका थिए। पीडितसँग उजुरी मागसमेत गरिएको उनको भनाइ छ।
'उजुरी उपर सरकारले छानबिन र कारबाही गर्छ। अब आउने उजुरीमा पनि छानबिन गर्छौं। बाहिर जति चर्चा चल्छ मिटर ब्याजीको भदौ ५ गतेसम्म सोचेको भन्दा बढी उजुरी आएको छ,' मन्त्री खाँडले भने, 'सरकारको स्थानीय अनुसन्धान नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालयले प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिएको छ। त्यो सरकारले गर्छौं।’
हालसम्म परेका तथा अब पर्ने उजुरी उपर मन्त्रालय तत्काल छानबिन र अनुसन्धान गरेर कानुनी कारबाही अगाडि बढाउने प्रतिबद्धता जनाए।