काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन पुनः आग्रह गरेका छन्।
बानेश्वर क्षेत्रमा सोमबार दिउँसो कारबाही चलाएपछि साँझ उनले फेसबुक पेजमा भनेका छन्, ‘अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएको छ। पार्किङ भनेर नक्सा पास भएका तर अन्य रुपमा प्रयोग भएका संरचनाहरुको अनुगमन, खोजी र कारबाही सुरु भएको छ। हामीले आज बानेश्वर क्षेत्रबाट कारबाही सुरु गरेका छौँ। विस्तारै सबैतिर महानगर पुग्नेछ। यसैले हामी अनुरोध गर्छौं कि पार्किङका लागि बनाइएका संरचनाहरु पार्किङमा नै प्रयोग गरिदिनुहोला। यसो भएमा शहरमा पार्किङ समस्याको वास्तविकता पहिचान हुनेछ, सडकमा पार्किङ गर्नुपर्ने बाध्यता कम हुनेछ भने महानगरलाई पार्किङ व्यवस्थापनका लागि योजना बनाउन सहज हुनेछ।’
महानगरले सुरु गरेको कारबाहीलाई कारबाही भन्दा पनि जिम्मेवारीको रुपमा बुझिदिन अनुरोध गर्दै उनले आफैं सचेत बन्न आग्रह गरेका छन्।
काठमाडौं महानगरपालिकाले सोमबार अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा सञ्चालित पसल हटाउने अभियान थालेको छ। नक्सा पास गर्दा सवारीसाधनको पार्किङ गर्ने अनुमति लिने तर व्यापार व्यवसाय सञ्चालन गरेको पाइएपछि महानगरले कडा कदम चालेको हो।
पार्किङ क्षेत्र खाली गर्न महानगरले एक महिनाअघि नै सूचना प्रकाशित गरेर समय तोकेको थियो। तर अटेर गरेर पसल नहटाएपछि सोमबार पसल हटाइएको हो। सोमबार काठमाडौंका मेयर बालेन शाहसहितको टोली अन्डरग्राउन्ड पार्किङ क्षेत्रको अनुगमनमा पुगेको छ।
बानेश्वर क्षेत्रमा रहेका ७१ वटा अन्डरग्राउन्ड पार्किङमध्ये २१ वटाले मात्र नक्सा पासअनुसार काम गरेको पाइएको छ। बाँकी सबैले पार्किङ क्षेत्रमा पसल चलाउन दिएका छन्। अनुमति विपरीत सञ्चालित सबै पसल हटाइने महानगरले बताएको छ।