कञ्चनपुर- कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप दुर्घटना हुँदा दश नेपाली यात्रु घाइते भएका छन्। बनबासाबाट यात्रु बोकेर खटिमातर्फ गइरहेको भारतीय नम्बर प्लेटको जीप चकरपुरस्थित थाना नजिक सोमबार दुर्घटना भएको गड्डचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीले युके ०६ टिए ३५७३ नम्बरको जीप दुर्घटना हुँदा धनगढी, गड्डाचौकी र सुकासाल क्षेत्रका गरी दश नेपाली घाइते भएको जानकारी दिए।
दुर्घटनामा परी सुकासालका राधा दयाल, जीतबहादुर दयाल, कञ्चनपुरका हेमा ओझा, दीपक ओझा, धनगढीका चन्द्रा, शानु, बलदेव सिंह, खेमबहादुर, लक्ष्मी र शारदा रहेको बताइएको छ।
घाइतेमध्ये केहीको अवस्था जटिल रहेको र खटिमास्थित सरकारी अस्पतालमा उपचार भइरहेको जानकारी भारतीय प्रहरीले कञ्चनपुर प्रहरीलाई जानकारी दिएको दिएको हो।