काठमाडौं- नेपाली लेखक संघले नेपालले नेपाली कांग्रेसका दिवंगत नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरी निधनप्रति शोक वक्तव्य जारी गरेको छ।
सादगी, चिन्तनशील र अध्ययनशील नेता गिरिको निधनले नेपाली जनताले एक असल नेता गुमाएको लेखक संघले जनाएको छ।
अध्यक्ष तीर्थ श्रेष्ठले सादगी नेताको निधनले लेखक संघ परिवारलाई मर्माहत बनाएको बताए।
'गिरी नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा एवं समाजवादी चिन्तकका साथै विराट विद्वान व्यक्तित्वका रुपमा सुपरिचित हुनुहुन्थ्यो। उहाँको निधनले नेपाली बौद्धिक जगतलाई अपूरणीय क्षति पुर्याएको छ,' विज्ञप्तिमा लेखिएको छ।
विभिन्न विषयको विशद ज्ञान, प्रखर विचार, तर्कशील दृष्टिकोण तथा न्यायका पक्षमा लिएका अडान एवं आदर्श र निष्ठावान् जीवनका कारण गिरी नेपाली जनमानसमा अमर भइसकेको संघको ठहर छ।