काठमाडौं- काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाका सडकको छेउछाउमा थुपारेर राखिएको फोहर धमाधम उठाउन थालेको छ। उपत्यकाको फोहोर ढुवानीमा निजी क्षेत्रका ३० भन्दा बढी ट्रक र टिपर प्रयोग भइरहेका छन्।
यस्तै महानगरसँग बन्चरेडाँडामा फोहोर ढुवानी गर्ने १३ कन्टेनर छन्। महानगरका प्रवक्ता नवीन मानन्धरले निजी क्षेत्रको सहयोगले उपत्यकाको फोहोर व्यवस्थापनमा निकै सहज भएको बताए।
महानगरसँग फोहोर फाल्ने पर्याप्त कन्टेनर नभएको अवस्थामा निजी क्षेत्रबाट ट्रक तथा टिपरको सहयोग मिलेकाले फोहोर व्यवस्थापन छिटो हुने प्रवक्ता मानन्धरले जानकारी दिए।
उनका अनुसार उपत्यकाका सडकमा थुप्रिएका फोहर उठाउन महानगरले नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ शाखासँग सहकार्य गरेको छ।
अहिले काठमाडौंको कमलादीमा क्षेत्रका सडकमा थुपारेर राखेका फोहर हटाइँदैछ। आजै कमलपोखरी क्षेत्रका फोहर पनि सङ्कलन गरिनेछ।
भोलि छुटेका ठाउँहरुको अनुगमन गरी फोहर उठाइने उनले बताए। महानगरपालिकाले अहिले कुहिने र नकुहिने फोहरलाई सडकबाट नछुट्याइ उठाएको छ।
पछिल्लो तीन दिनयता स्थानीयले अवरोध पनि गरेका छैनन्। उनीहरूले आफ्ना माग पूरा गर्न पाँच दिनअघि एक साताको समय दिएका थिए। यद्यपि, महानगरले सात दिनमा माग पूरा नगरे फोहोर व्यवस्थापनमा पुनः अवरोध गर्ने स्थानीयले बताएका छन्।
काठमाडौँको दरबारमार्ग, कमलादी, पुतलीसडक, मैतीदेवी, गौशालालगायत क्षेत्रका फोहोर आइतबार उठाइएको छ। यी स्थानबाट दुई सय ५० वटा गाडी फोहोर बन्चरेडाँडा पुर्याइएको छ।