काठमाडौं- पछिल्लो एक महिनामा ४ सयभन्दा बढी डेंगुका बिरामी भेटिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार त्यसअघिको ५ महिनामा ३ सय ४७ वटा डेंगुका बिरामी भेटिएका थिए।
काठमाडौं उपत्यकालगायत देशभर डेंगुका बिरामी बढ्न थालेको महाशाखाको तथ्यांक छ। महाशाखाअन्तर्गत भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डा. गोकर्ण दाहालले पछिल्लो सयम हिमाली जिल्लामा पनि डेंगुका बिरामी भेटिएको र हालसम्म यस वर्ष ६० जिल्लामा यसका बिरामी भेटिएको जानकारी दिए।
'६० जिल्लामा डेंगुका बिरामी भेटिएको पुष्टि भएको छ। पछिल्लो एक महिनामा डेंगुका बिरामीको संख्या ह्वात्तै बढेको छ। कार्तिकसम्म डेंगुका बिरामी बढ्ने समय हो,' डा. दाहालले भने, 'गत ६ महिनाको तथ्यांक हेर्ने हो भने साउनमा मात्र संक्रमित भएका बिरामीको हिस्सा आधाभन्दा बढी छ। अझै तीन महिना डेंगुका बिरामी बढ्न सक्ने भएकाले सम्बन्धित निकायलाई सचेत गराइएको छ।’
गत वर्ष ४ सय ८९ जना मात्र डेंगुका बिरामी फेला परेका थिए। यस वर्ष एक महिनामा नै ४ सय जनाभन्दा बढी डेंगुका बिरामी पुष्टि भएका छन्। पछिल्लो ७ महिनाको अवधिमा झन्डै साढे ७ सय जनामा डेंगु पुष्टि भएको छ।
हाल सबैभन्दा धेरै बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै डेंगुका बिरामी देखिएको दाहाल बताउँछन्। २०७६ मा डेंगुले प्रकोपको रुप लिँदा १० हजार ८ सय ८ केस पुष्टि भएको थियो। जसमध्ये ६ जनाको मृत्यु भएको थियो। महाशाखाको तथ्यांकअनुसार २०७५/०७६ मा ३ हजार ४२४ केस पुष्टि भएका थिए। त्यस्तै ०७६/०७७ मा १० हजार ८०८, ०७७/०७८ मा ४८७ र ०७८/०७९ ४८९ केस पुष्टि भएको थियो।
किन बढ्दै छ डेंगु?
जलवायु परिवर्तन भएसँगै डेंगु पनि तराइबाट उक्लिएर हिमाली क्षेत्रसम्म पनि देखिन थालेको छ। पहिले पहिले तराईका जिल्लामा मात्र देखिने भनिएको डेंगु पछिल्ला वर्ष देशका सबै क्षेत्रमा पुष्टि भएकाले बिरामी बढ्न थालेको दाहाल बताउँछन्।
नेपालमा हरेक वर्ष डेंगु देखिने गरेको छ। दशैंतिहारको समयमा बढी देखिने डेंगु यसवर्ष अगाडि नै देखिनु चिन्ताको विषय भएको पुनको भनाइ छ।
डा. दाहालका अनुसार पुस महिनायता हिमाली जिल्लामा पनि डेंगुका बिरामी देखिएका छन्। हिमाली जिल्लाहहरु जुम्ला, मुगु, कालिकोट, बैतडीलगायतका जिल्लामा डेंगुका बिरामी भेटिएको दाहाल बताउँछन्। उनका अनुसार जलवायु परिवर्तन र किराहरूले बानी परिवर्तन गरी चिसो हावामा पनि रमाउन सक्ने भएका कारण डेंगु हिमाली जिल्लातर्फ चढिरहेको छ।
'डेंगु एडिस एजिप्टाई प्रजातिका लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सहरी तथा घना बस्तीमा बस्ने गर्छ,' दाहाल भन्छन् ‘पछिल्ला वर्षमा भने जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा पनि उक्लिँदै गएको छ। खासगरी डेंगु गराउने लामखुट्टे सफा पानीमा बस्न रुचाउँछ। फुलदानीमामा राखिएको पानी, टायरमा जमेको पानी, भाँडामा लामो समयसम्म जमेर बसेको पानीमा डेंगु गराउने लामखुट्टे रमाउँछ।’
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पछिल्ला केही दिनयता डेंगुको संक्रमण बढेरहे पनि सरकारी निकायले पर्याप्त चासो नदिएको बताउँछन्। '२०१९ को डेंगुको महामारीको झल्को दिने गरी पछिल्ला दिनमा डेंगुका बिरामी बढिरहेका छन्। सो समयमा १० हजारभन्दा बढी मानिसमा डेंगु भएको थियो,' पुनले भने, 'उपत्यका डेंगुको जोखिममा छ, त्यसैले समयमा नै सचेत हुनु आवश्यक छ।’ समयमै सचेत नभए २०१९ कै जस्तै डेंगु महामारी आउन सक्ने उनको चेतावनी छ।
नेपालमा हरेक वर्ष डेंगु देखिने गरेको छ। दशैंतिहारको समयमा बढी देखिने डेंगु यसवर्ष अगाडि नै देखिनु चिन्ताको विषय भएको पुनको भनाइ छ। '२०१९ मा पनि मनसुन सिजन सुरु हुनुपूर्व नै डेंगुले प्रभाव देखाउन सुरु गरिसकेको थियो,' पुन भन्छन्, 'यस वर्ष पनि त्यो अवस्था आउन नदिन सचेत हुनुपर्छ।'
नेपालमा हरेक वर्ष डेंगु देखिने गरेको छ। दशैंतिहारको समयमा बढी देखिने डेंगु यसवर्ष अगाडि नै देखिनु चिन्ताको विषय भएको पुनको भनाइ छ।
डेंगु गराउने एडिस जातको लामखुट्टे विशेषतः सूर्योदय पछि र सूर्यास्त हुनुपूर्व बढी सक्रिय हुने र टोक्ने गर्दछ। 'लामो समय एकै ठाउँमा बसेर काम गर्दा सो समयमा कार्यव्यस्तताको कारणले टोकेको समेत थाहा नहुन सक्छ, त्यसैले कार्यालयमा काम गर्दा पनि ध्यान दिन आवश्यक छ,’ उनले भने।
डेंगु भएको मानिसलाई टोकेको लामखुट्टेले अरुलाई टोके डेंगु हुने चिकित्सक बताउँछन्। डेंगु संक्रमित सबैमा डेंगुको कडा लक्षण हुँदैन। संक्रमितमध्ये ७५ प्रतिशतमा भने लक्षण नदेखिन पनि सक्दछ। तर केही मानिसमा अचानक पेट दुख्ने, वान्ता हुने, ज्वरो आउने, आँखाको गेडी दुख्ने, रक्तश्राव हुने (गिंजा, नाक आदिबाट रगत बग्ने) लगायतका लक्षण देखिन्छन्। संक्रमण भएको ४ देखि १० दिनसम्ममा संक्रमितमा लक्षण देखिने गर्दछ। यस्तो लक्षण देखिएमा तत्काल अस्पताल जान पुनको सुझाव छ। डेंगुको विशेष औषधि र खोप छैन। तसर्थ लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट बच्ने मुख्य उपाय भएको उनी बताउँछन्।
यो लामखुट्टे संकलित सफा पानीमा आफ्नो जीवनचक्र बनाउने हुनाले घर तथा कार्यस्थलमा पानी संकलन हुने वातारण सिर्जना हुन नदिन उनको आग्रह छ। प्लास्टिक, बाल्टिन, गाडीका फालिएका टायरलगाएतमा पानी जम्ने हुनाले त्यस्ता कुरामा ध्यान दिनुपर्ने उनको सुझाव छ।
डेंगुका बिरामी बढ्न थालेपछि महाशाखाले सबै अस्पतालका इमर्जेन्सी विभाग र मेडिसिन विभागलाई गम्भीर रहन आग्रह गरेको छ। महाशाखाले डेंगु नियन्त्रण अभियान सञ्चालन गर्नसमेत सबैमा आग्रह गरेको छ।