काठमाडौं - अक्षरा स्कुलले 'बनौं संस्कारी पाठ्यक्रम' सुरु गरेको छ। यही पाठ्यक्रममा सहयोग पुग्ने पुस्तक पनि शुक्रबार विमोचन गरियो। वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाई, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई र पुस्तकका लेखक डा. राजु अधिकारीले संयुक्त रुपमा विमोचन गरे।
पुस्तकबारे चर्चा गर्दै डा. कोइरालाले पछिल्लो समय आधारभूत मानवीय मूल्य बिर्सिँदै गएको बताए। संस्कार बिर्सेकैले यस्तो भएकाले न्युनतम मानवीय मूल्य विर्सदै गएको बताउँदै उनले भने, 'अहिले विज्ञान छ। प्रविधि छ। भौतिक विकास पनि छ। यी सबै चाहिन्छ। तर यसका साथमा मानव मूल्य पनि चाहिन्छ। मानव मूल्य छैन भने हाम्रो जीवनको पनि कुनै मुल्य हुँदैन।'
कोइरालाले पुस्तकमा १०१ गुण हुनु पर्नेमा जोड दिएपनि सबै कार्यान्वयन गर्न गाह्रो हुने तर ५ वटा मात्रै गुण धारण गरे भने जीवन सफल हुने प्रतिक्रिया दिए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, 'हामी सबै हाम्रा नानीबाबु असल होउन् भन्ने चाहन्छौं तर कसरी असल बनाउन सकिन्छ भनेर ध्यान भने दिने गरेका छैनौं।' उनले स्कुलको परीक्षामा राम्रो अंक ल्याएर पास गरे पनि जीवनको परीक्षामा भने फेल भइराखेका बताए।
असल समाज र असल व्यक्ति निर्माण गर्ने नै शिक्षाले नै भएको थपलियाले बताए। थपलियाले भने, 'संसार बदल्ने हो भने पहिला आफू बदलिनु पर्छ। आफू बदलिन संस्कार जान्नुपर्छ। संस्कार सहितको शिक्षा हुनुपर्छ।'
स्कुलकी डाइरेक्टर प्रिन्सिपल भट्टराईले संस्कारयुक्त शिक्षा दिनकै लागि १२ वर्षअघि स्कुलको स्थापना गरेको बताए। उनले भने, 'हाम्रो विद्यालयको मिसनसँग यो पुस्तक मिल्ने रहेछ। त्यही भएर हामीले यसलाई सन्दर्भ सामग्रीको रुपमा प्रयोग गर्ने निष्कर्ष निकाल्यौं। अब संस्कारको बेग्लै पाठ्यक्रम समेत बनाउने तयारी भइरहेको छ।'
लेखक अधिकारीले शिक्षा भए पनि संस्कार नभए व्यक्तित्वमा सुवास नआउने बताए। जतिसुकै व्यस्त भए पनि अभिभावकले बालबालिकालाई क्वालिटी टाइम र संस्कार चाहीँ दिनै पर्नेमा लेखक अधिकारीले जोड दिए। सन्तानको कुशलताको लागि पुस्तक लेखेको पनि उनले जानकारी दिए।
अक्षरा स्कुल संस्कारण नाम दिइएको पुस्तकमा संस्कारको सुगन्ध, संस्कारी व्यक्ति यस्ता हुन्छन्, संस्कारी हुनुको अर्थ र महत्व, असल सन्तान नै अमुल्य सम्पत्ति, संस्कार युक्त शिक्षा आजको आवश्यकता, चरित्र र शिक्षाको शिलान्यास, संस्कारी व्यक्तिको शान र पहिचान, नैतिकता र चरित्र, नागरिक कर्तव्य, सद्गुण र शिष्टाचार, बनौ संस्कारी जस्ता विषय समेटिएका छन्।