शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • 'डलर सञ्चितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको निर्यात बढाउनुपर्छ'

'डलर सञ्चितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको निर्यात बढाउनुपर्छ'

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा सञ्चितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको निर्यात बढाउनुपर्ने बताएका छन्।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा सञ्चितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको निर्यात बढाउनुपर्ने बताएका छन्। 

नेपाल कुचो संघको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा शनिबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले मुलुकमा देखिएको विदेशी मुद्रा सञ्चितिको समस्या समाधान गर्न कृषि उपजको उत्पादन तथा निर्यात बढाउनुपर्नेमा जोड दिएका हुन्।

‘कृषि उपजहरुको उत्पादन तथा निर्यात बढाउन सकियो भने मात्र हाम्रो आर्थिक गतिविधि चलायमान हुन्छ। यसले एकातर्फ हाम्रो आयात प्रतिस्थापन गर्न सहयोग पुग्छ भने अर्कोतर्फ निर्यात बढाई विदेशी मुद्रामा समेत सहयोग पुग्छ,’ उनले भने। उनले कृषिको विकास तथा यस क्षेत्रको समस्या समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको रुपमा आफूले पहल गर्ने बताए।

उनले भने, ‘यस क्षेत्रबाट मात्र औपचारिक तथा अनौपचारिक रुपमा लगभग ४ अर्ब रुपैयाँको निर्यात भएको भन्ने सुनेको छु। यसलाई अझ बढाउन आवश्यक छ। तपाईंहरुले यस क्षेत्रका समस्याहरु लिखित रुपमै तयार गरेर आउनुभयो भने म नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको रुपमा महासंघको तर्फबाट नेपाल सरकार तथा सरोकारवाला निकायसँग छलफल गरी समस्या समाधान गर्न तयार रहनेछु।’

उनले नेपाल भूपरिवेष्ठित मुलुक भएको हुनाले नेपालले कुनै पनि वस्तु आयात तथा निर्यात गर्दा समस्या रहेको बताए। वरिष्ठ उपाध्यक्ष ढकालले नेपाल अहिले रेमिट्यान्समा आश्रित रहेको बताउँदै कृषि, पर्यटन तथा जलविद्युत क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए। 

प्रकाशित: Aug 21, 2022| 13:11 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्