रसुवा- जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले चालक अनुमति पत्रसहित आवश्यक कागजात साथमा नराखी सवारीसाधन चलाउने चालकमाथिको कारबाहीलाई तीव्र बनाएको छ।
कार्यालयका प्रमुख उज्ज्वलकुमार घलेका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा साना–ठूला सवारीसाधनका गरी २५० चालक कारबाहीमा परेका हुन्। कारबाही पर्नेमा मोटरसाइकल ७५, जीप–कार ५० र ठूला सवारी १२५ छन्। कारबाही गरिएकाबाट २ लाख ४१ हजार ५०० रुपैयाँ जरिवाना गरिएको उनले बताए।
नेपाल–चीनबीचको व्यापार–व्यवसाय गर्ने रसुवागढी नाका भएका कारण यस क्षेत्रमा सवारीसाधनको चाप बढ्दै गएको हो। सवारीसाधनमा आवश्यक कागजपत्र नबोक्न पटक–पटक सचेत गराउँदा समेत चालकले आलटाल गरेका कारण कारबाही स्वरूप जरिवाना गर्नुपरेको कार्यालयले जनाएको छ।
विगतको तुलनामा ट्राफिक नियम पालनामा केही सुधार आए पनि पछिल्लो समय नयाँ-नयाँ थपिने चालकबाट बढी मात्रामा हेलचक्र्याइँ हुने गरेको पाइएको जनाएको छ। उनले भने, ‘जुन स्थानमा जाँच हुन्छ, सोही स्थानमा ट्राफिक नियमबारे चालकलाई जानकारी पनि दिँदै आएका छौं।’