शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दोर्दी करिडोरको बिजुली जोड्ने वैकल्पिक प्रसारण तयार

दोर्दी करिडोरको बिजुली जोड्ने वैकल्पिक प्रसारण तयार

करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली उदीपुर हुँदै मध्य मर्स्याङ्दीको स्वीचयार्ड सिउँडीबारमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

लमजुङ- लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि वैकल्पिक व्यवस्थासहितको प्रसारण लाइन तयार भएको छ।

सो करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली उदीपुर हुँदै मध्य मर्स्याङ्दीको स्वीचयार्ड सिउँडीबारमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले कूल छ किलोमिटर लामो प्रसारण लाइनमार्फत बिजुली जोड्न सकिने गरी नयाँ व्यवस्था गरिएको मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख चिरन्तनविक्रम राणाले जानकारी दिए। 

वन क्षेत्रको रुख कटानमा देखिएको समस्या तथा अन्य स्थानीयवासीको मागका कारण लामो समयदेखि मार्कीचोक हुँदै लमजुङ खण्डमा प्रसारण लाइन निर्माणको कामले गति लिन नसकेपछि प्राधिकरणले आफ्नो प्रतिवद्धताअनुसार प्रसारण लाइन तयार पारेको हो।

हाल तयारी हालतमा रहेको प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिने छ। सो प्रसारण लाइनको क्षमता २२० केभी भए पनि तत्काल कम क्षमता चार्ज गरेर प्रवर्द्धक बिजुली प्रणालीमा जोडिने आयोजना प्रमुख राणाको भनाइ छ। लमजुङकै ङादी तथा त्यसका सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् खुदी सवस्टेसनमा जोडिने छ। 

मर्स्याङ्दी र त्यसका सहायक नदीमा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरू गरिएको हो। प्रसारण लाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ।

उनका अनुसार हिमालयन पावर पार्टनरको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले बिजुली जोड्छौँ भनेकै दिन जोड्न सकिने भएको छ। यस्तै  लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युतको आयोजना निर्माणाधीन छ। त्यस्तै दोर्दीखोला जलविद्युत् कम्पनीको १२.१ दोर्दी–१ पनि तत्कालै जोड्न सकिनेछ। 

चेपे खोलाका निर्माणाधिन सात मेगावाटको अर्को एक आयोजनाको समेत बिजुली सोही प्रसारण लाइनमा जोडिँदा तत्कालै ७० मेगावाट बराबरको बिजुली केन्द्रीय प्रणालीमा थप हुनेछ। 

चितवनको भरतपुरदेखि  मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब एक सय १३ किलोमिटर छ। आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ। पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सवस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ।

दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणाधीन छन्। तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई सबस्टेसन निर्माण भइरहेका छन्। नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब बराबर छ।

लमजुङमा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन छन्।  यस्तै पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ पनि सोही प्रसारण लाइनमार्फत नै प्रवाह हुनेछ। सो करिडोरका सबै आयोजना निर्माण सम्पन्न भएपश्चात् एक सय २५ मेगावाट बिजुली उत्पादन हुनेछ। त्यहाँ निर्माण भएका आयोजनाबाट एक वर्षदेखि पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ।

त्यस्तै दोर्दी करिडोरमै छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा चार मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। दोर्दी करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रोपावरको सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजनामा  कूल आठ अर्ब ८० करोड लगानी छ। सो आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा र जिल्लावासीको पनि २७ करोड लगानी रहेको छ। -रासस

प्रकाशित: Aug 21, 2022| 07:20 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।