शुक्रबार, असोज ९, २०८३

आलुखेतीमा आत्मनिर्भर हुँदै व्यास नगरपालिका

नगरपालिकाका १४ वडामध्ये अधिकांश क्षेत्रमा आलुखेती राम्रो हुने गरेकाले आत्मनिर्भर बन्न सक्ने हैसियतमा पुगेको हो।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

तनहुँ- तनहुँको व्यास नगरपालिका आलुखेतीमा आत्मनिर्भरउन्मुख हुँदै गएको छ। नगरपालिकाका १४ वडामध्ये अधिकांश क्षेत्रमा आलुखेती राम्रो हुने गरेकाले आत्मनिर्भर बन्न सक्ने हैसियतमा पुगेको हो।

आलुखेतीको लागि व्यासका ५ देखि १२ नम्बर वडामा धेरै परिमाणमा आलुखेती हुने गरेको नगरपालिका कृषि शाखाका प्रमुख अधिकृत विश्वराज वाग्लेले जानकारी दिए।

गत वर्ष ३६ मेट्रिक टन आलुको बीउ किसानलाई ५० प्रतिशत अनुदानमा दिँदा झण्डै २५२ मेट्रिक टन आलु उत्पादन भएको उनले बताए। प्रतिकिलो ७५ रुपैयाँको आलु ३७.५० रुपैयाँमा किसानलाई अनुदानमा दिइएको हो। नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा १२ लाख रुपैयाँको आलुको बीउ वितरण गरिएको हो। आलु उत्पादनका लागि कार्यालयले प्रोत्साहनमूलक कार्यक्रम ल्याएपछि किसान उत्साहित भएर लागेको शाखा प्रमुख वाग्लेले जानकारी दिए।

भदौमा आलुखेती गर्ने हो भने वर्षमा २ मौसम आलुखेती गर्न सकिने हुँदा व्यास क्षेत्र आत्मनिर्भर बनी अन्यत्र समेत निर्यात गर्न सकिने उनले बताए। ३ महिनामा उत्पादन गर्न सकिने र यहाँका खेत र पाखोमा आलु उत्पादन राम्रो हुने गरेको बताइएको छ। 

किसानले प्रतिबोरा ३५० देखि ५०० रुपैयाँसम्म तिरेर पोखरा वा चितवनका चिस्यान केन्द्रमा आलुको बीउ लगेर राख्नुपर्ने बाध्यता रहिआएको छ। यस वर्षदेखि प्रयोगमा ल्याउने गरी नगरपालिकाले चिस्यान केन्द्र निर्माण गरिरहेको छ। उनले भने, ‘चिस्यान केन्द्र बनेपछि किसानले महंगो शुल्क तिरेर ढुवानी र भण्डारमा राख्नुपर्ने समस्याको अन्त्य हुनेछ।’ 

नगरपालिकाले व्यास क्षेत्रका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु भण्डारण गर्दा सुलभ र सस्तो दरमा राख्ने योजना बनाएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले आव २०७९/०८० मा सञ्चालन गर्नुपर्ने क्रमागत योजनाअनुरूप नगरपालिका–११ स्थित रानीगाउँ नजिक चिस्यान केन्द्र निर्माण गरिरहेको छ। चिस्यान केन्द्रका लागि ७ लाख ३३ हजार ७२८ रुपैयाँ बजेट विनियोजन भएको छ। चिस्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ।

प्रकाशित: Aug 21, 2022| 06:10 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्