काठमाडौं- काठमाडौं उपत्यकामा उत्पादन हुने कुहिने फोहर व्यवस्थापन गर्ने भन्ने हालसम्म स्थान पहिचान हुन सकेको छैन। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कुहिने फोहर यहीँ व्यवस्थापन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन।
सम्भावित पाँच स्थानको पहिचान गरे पनि स्थानीय सकारात्मक हुन नसक्दा थप प्रक्रिया अघि बढ्न नसकेको कामपाले जनाएको छ। कामपाका प्रमुख साहको सचिवालय सदस्य सुनील लम्सालका अनुसार अहिलेसम्म विभिन्न पाँच स्थानमा ५० देखि एक सय ५० रोपनी जग्गाको पहिचान भएको छ।
उक्त विषयमा स्थानीय सकारात्मक हुन नसकेका उनको भनाइ छ। उनीहरुलाई कुहिने फोहरबाट मल उत्पादन गर्दा हुने फाइदा र त्यसको सकारात्मक पक्षका बारेमा जानकारी दिन आवश्यक रहेको लम्सालले बताए।
स्थानीय सकारात्मक नभएकै कारण गत साउन अन्तिम सातादेखि कीर्तिपुरमा केही कुहिने फोहर व्यवस्थापन गर्ने भने पनि काम सुरु हुन नसकेको कामपाले जनाएको छ। तीन महिनापछि हानिकारक फोहर बञ्चरेडाँडामा नफाल्ने गरी कार्य अघि बढाइएको कामपाको दाबी छ।
दुई महिनादेखि विसर्जन हुन नसकेको काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साबिकबमोजिम फोहर व्यवस्थापन हुन थालेको छ।
पटक-पटकको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले समयसमयमा अवरोध गर्दै गर्दा काठमाडौँमा फोहरको डङ्गुर थुप्रने गरेको छ। यसरी स्थानीयले सहमतिपछि पनि अवरोध गर्ने गरेकाले हालको सम्झौता पनि दीर्घकालीन नभएको भन्दै कामपाले अन्य स्थानमा पनि फोहर व्यवस्थापन गर्न स्थान पहिचानको काम जारी राखेको जनाएको छ।
साबिकबमोजिम फोहर व्यवस्थापनका लागि स्थानीयले अवरोध नगरे, पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा यसअघि थुप्रिएको सबै फोहर अन्तिम व्यवस्थापनस्थलसम्म लग्ने कामपाको योजना छ। हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन वञ्चरेडाँडामा हुने गरेको छ।