कास्की– गण्डकी प्रदेशमा मागको ३० प्रतिशत मात्रै बिउ उत्पादन हुने गरेको छ। प्रदेशका ११ जिल्लामा आवश्यक पर्ने खाद्यान्न तथा तरकारी बालीको बिउ तथा उन्नत जातका बिउ ७० प्रतिशत अन्यत्रबाट आयात गर्नुपर्ने अवस्था छ।
वार्षिक रूपमा गण्डकीका लागि ६ हजार २०० मेट्रिक टन धान बिउ, ५ हजार २८ मेट्रिक टन मकैको बिउ, ४ हजार ८०० मेट्रिक टन गहुँ बिउ र ३२ हजार मेट्रिक टन आलुको बिउ आवश्यक पर्ने कृषि विकास स्रोत केन्द्र स्याङ्जाका बाली विकास अधिकृत सुदीप रेग्मीले बताए।
‘गण्डकीका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको कृषि केन्द्रले विशेषगरी बिउ, खाद्यान्न तथा तरकारी बालीका विभिन्न प्रजातिका बिउ उत्पादनका क्षेत्रमा काम गर्दै आएको छ’, उनले भने, ‘हाल गण्डकी प्रदेशभित्र बिउ उत्पादनका लागि सूचीकृत भएका समूह सहकारी तथा निजी क्षेत्रले उत्पादन गरेको बिउले मात्र ३० प्रतिशत माग धानेको छ।’
थप आवश्यक बीउ अन्यत्रबाट मगाउने गरिएको छ। अधिकांश कृषकले पुरानै बिउ र हाइब्रिड बिउ प्रयोग गर्दै आएका छन्। कृषक समूह, सहकारी तथा निजी क्षेत्रका अलावा गण्डकीमा संघीय कार्यालयअन्तर्गत मुस्ताङको मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रले विशेषगरी रायो, मुला, गाँजर, बन्दा, काउली, आलुलगायत बिउ उत्पादन गर्दै आएको रेग्मीले बताए।
गुणस्तर जाँच्न प्रदेशस्तरीय बिउबिजन प्रयोगशाला रहेको छ। गण्डकीमा खाद्यान्न तथा तरकारी बालीको स्रोत बिउ उत्पादनका लागि कृषि अनुसन्धान निर्देशनालय लुम्ले र बागवानी अनुसन्धान केन्द्र मालेपाटन पोखरा रहेको छ।
आवश्यकता र सम्भावना अनुसार गण्डकीमा खाद्यान्न तथा बालीको स्रोत बिउ उत्पादन, प्रशोधन तथा बजारीकरणसम्बन्धी काम सञ्चालन तथा सहजीकरण गर्न साविकको रेशम विकास कार्यक्रम वालिङ, स्याङ्जाको कार्य विवरण थप गर्दै कृषि विकास स्रोत केन्द्र स्थापना भएको छ।
‘गण्डकी सरकारको आव २०७६÷७७ को नीति तथा कार्यक्रमले कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायीकरण र सिँचाइको सुनिश्चितता गरी उत्पादन र उत्पादकत्व बढाउने गरिएको छ’, उनले भने, ‘तीन वर्षमा मुख्य–मुख्य उत्पादनमा आत्मनिर्भर हुने र पाँच वर्षमा खाद्यान्न उत्पादन दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको छ।’
लक्ष्य प्राप्तिका लागि गुणस्तरीय बिउ प्रयोगमा ध्यान दिए मात्रै २० देखि २५ प्रतिशत बाली उत्पादन वृद्धि हुने रेग्मी बताउँछन्। बीज वृद्धि कार्यक्रमका लागि गण्डकीमा ६१ कृषक समूह, सहकारी तथा निजी क्षेत्र मूल बिउ तथा उन्नत बिउ बिजन उत्पादनका लागि सूचीकृत छन्।
सबैभन्दा धेरै स्याङ्जामा मात्रै खाद्यान्न तथा तरकारी बालीका २१ समूह र सहकारी छन्। गण्डकीको कुल भूमिमध्ये २२ दशमलव २ प्रतिशत भू–भाग खेतीयोग्य छ।प्रदेशमा ४ लाख ८७ हजार ८२३ हेक्टर क्षेत्रफलमध्ये ७६ प्रतिशत जमिनमा मात्रै खेती गरिएको छ। बाँकी जग्गा बाँझो रहेको रेग्मीले जानकारी दिए।–रासस