काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत दक्षिण कोरियाबाट साँढे र गाई ल्याउने भएको छ। मन्त्रालयले उन्नत जातका २० वटा साँढे र १०१ वटा गाई ल्याउने भएको हो। आउँदो दुई महिनाभित्र तोकिएका संख्याका साँढे र गाई नेपाल ल्याइनेछ।
नेपालका साँढे पुरानो भएकाले यसको प्रयोगबाट जन्मने बाच्छाबाच्छीको गुणस्तर कमजोर हुने, दूध उत्पादन घट्नेलगायतका समस्या आएपछि पाँच वर्षअघि कृषि मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले उन्नत जातको साँढे र गाई ल्याइदिन हेफरलाई लिखित आग्रह गरेको थियो।
यसका लागि कृषि मन्त्रालयले सबै कानुनी प्रक्रिया पूरा गरी परराष्ट्र मन्त्रालयमार्फत दक्षिण कोरियालाई पत्र पठाएको छ। ‘दक्षिण कोरिया सरकारलाई पत्र पठाइसकिएको छ। त्यहाँ पनि कानुनी प्रक्रिया सुरु भएको छ । सबै प्रक्रिया पूरा भएपछि उन्नत जातको साँढे र गाई ल्याइनेछ’, विभागका प्रवक्ता डा. चन्द्र ढकालले भने।
कोरिया सरकारले पठाएको नमुनाअनुसार नेपालले हेल्थ सर्टिफिकेट (निरोगिताको प्रमाणपत्र)तयार पारिसकेको छ। नेपाललाई ती गाई र साँढे निःशुल्क उपलब्ध हुनेछन्। कोरियाबाट ल्याइएका गाई सिन्धुलीमा खोल्न लागिएको मोडल डेरी भिलेज फार्ममा राखिनेछ। कोरियाबाट ल्याइने साँढे भने पोखराको पशु प्रजनन कार्यालयमा राख्ने तयारी छ।