शनिबार, जेठ ३०, २०८३

अमलेखगञ्जमा निर्माण हुँदै पेट्रोल भण्डारणगृह

दोस्रो चरणको कार्यअन्तर्गत आईओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपो हाताभित्र पेट्रोल भण्डारणगृह निर्माण सुरु भएको हो।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

महोत्तरी– बिहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण तीव्र गतिमा भइरहेको छ। दोस्रो चरणको कार्यअन्तर्गत आईओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपो हाताभित्र पेट्रोल भण्डारणगृह (ट्यांकी) निर्माण सुरु भएको हो।

National life

मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आयात गर्ने पहिलो चरणको परियोजना सम्पन्न भएपछि पाइपलाइनबाट पेट्रोल आयात गर्न दोस्रो चरणको कार्य सुरु भएको नेपाल आयल निगमको अमलेशगञ्ज डिपोले जनाएको छ। मोतिहारीदेखि अमलेखगञ्ज ७६ किमि दूरी रहेको छ। नेपाल–भारतबीच भएको सम्झौताअनुसार दोस्रो चरणको कार्य इन्डियन आयल कर्पोरेसन (आईओसी)ले गर्नेछ।

उक्त पूर्वाधार निर्माण गर्न १ अर्ब ३० करोड लागत लाग्ने अनुमान रहेको डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए। भण्डारणगृह निर्माण नभएका कारण पाइपलाइनबाट पेट्रोल ल्याउन नसकिएको उनले बताए। उक्त परियोजनाअन्तर्गत पहिलो चरणको २४ भदौ २०७६ भित्र सम्पन्न भएपछि पाइपलाइनबाट डिजेल आयात गर्न सुरु भएको बताइएको छ ।

दोस्रो चरणअन्तर्गत अमलेखगञ्जमा पेट्रोल भण्डारण  गर्न ४,१०० किलोलिटर क्षमताका दुई ट्यांकी निर्माण भइरहेका छन्। साथै, डिजेल र पेट्रोलको गुणस्तर परीक्षण गर्न प्रयोगशाला एवं आधुनिक प्रविधिसहित ट्यांकर लोड र अनलोड गर्न २४ वटा लोडिङ फिलिङ सेट निर्माण गर्न लागिएको हो।

यो प्रणालीबाट लोड अनलोड गर्दा आगलागीको जोखिम कम हुन्छ। पेट्रोल चोरी र ढुवानीको समस्या हट्ने विश्वास लिइएको छ।  मोतिहारीमा पनि पेट्रोल भण्डारणगृह निर्माण भइरहेको छ। विगतमा रक्सौलबाट अमलेखगञ्जसम्म ३५ किमि दूरीमा ट्यांकरमार्फत पेट्रोलियम पदार्थअन्तर्गत पेट्रोल र डिजल आयात भइरहेको थियो। हाल पाइपलाइनबाट प्रतिघण्टा २५० किलोलिटरका दरले डिजेल आयात भइरहेको बताइएको छ।

Shivam cement

पहिलो चरणको परियोजनामा पाइपलाइनमार्फत डिजल आयात गर्न नेपाल आयल निगम र आईओसीको संयुक्त लगानीमा मोतिहारीदेखि अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निमार्णको काम २ अर्ब ७५ करोड भारुमा सम्पन्न भएको थियो। अमलेखगजञ्मा हाल १९ हजार किलोलिटर क्षमताको डिजेल र २,१०० किलोलिटर पेट्रोल भण्डारण गर्ने क्षमता छ।

बजार मागअनुसार पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ। उक्त पाइपलाइनबाट आयात गरिएको डिजेल वीरगञ्ज, जनकपुर अमलेखगञ्ज, काठमाडौं, पोखरा, चितवनलगायत जिल्लामा बिक्री वितरणका लागि पठाउने गरिएको छ।

नेपालका तर्फबाट तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतका तर्फबाट प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच ७ भदौ २०७२  मा पेट्रोलियम पाइपलाइन परियोजना निर्माण गर्न सम्झौता भएको थियो। आगामी सन् २०२४ जनवरीमा पूर्वाधार निर्माण सकेर पाइपलाइनबाट पेट्रोल आयात गर्ने आयल निगमको लक्ष्य रहेको अमलेखगञ्ज डिपोले जनाएको छ।–रासस

प्रकाशित: Aug 20, 2022| 12:00 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्