शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्वदेशी वस्तुको बजारीकरणमा सहयोग गर्न सरकार तयार : प्रधानमन्त्री देउवा

स्वदेशी वस्तुको बजारीकरणमा सहयोग गर्न सरकार तयार : प्रधानमन्त्री देउवा

‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं, स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गरौं’ मूल नारासहित सुरु भएको व्यापार मेलामा कृषि, हस्तकला, खाद्यवस्तु, अन्तर्राष्ट्रिय उद्यमीको उत्पादनलगायत १०९ कक्ष राखिएका छन्।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक प्रविधि तथा सीपबाट उत्पादित वस्तुको प्रचार–प्रसार एवं बजारीकरणमा आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका छन्।

महिला उद्यमी महासंघ नेपालले बिहीबारदेखि ललितपुरमा आयोजना गरेको छैटौं अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन गर्दै उनले स्वदेशी सीप र प्रविधिमा आधारित उद्योगबाट उत्पादित वस्तुको प्रचार–प्रसार तथा बजार विस्तार गर्न आवश्यक रहेको बताए।

प्रधानमन्त्री देउवाले महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाका प्रदर्शनी एवं मेलाले निकासी प्रवद्र्धनमा सहयोग पुग्नुका साथै साना तथा मझौला उद्योगको संरक्षण र दिगो विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘स्वदेशभित्रै उपलब्ध कच्चा पदार्थ, स्रोत–साधनलाई अधिक परिचालन गरी निकासी प्रवद्र्धनमार्फत विदेशी मुद्रा आर्जन र रोजगारी विस्तार गर्न महिलाले विशेष ध्यान दिनुपर्छ। स्वदेशी श्रम, सीप र कच्चापदार्थमा आधारित उद्योग स्थापना गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा सहयोग पु¥याउन आग्रह गर्छु।’

व्यापार मेलाले महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्न, महिला उद्यमी व्यवसायीबाट उत्पादित वस्तु तथा सेवाको विविधीकरणका साथै बजारको पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले महिला उद्यमीको वस्तु तथा सेवाको प्रदर्शनीले रोजगारी सिर्जना, व्यावसायिक सीपको विकास तथा महिलालाई उद्यम व्यवसायमा लाग्न प्रेरित गर्ने उनले सुनाए।

प्रदर्शनीका क्रममा हुने उद्यमी व्यवसायी बीचको अन्तरक्रिया र आयात निर्यातसँग सम्बन्धित सूचना आदान–प्रदानले अन्य मुलुकका उद्यमी व्यवसायीका बीच व्यापारिक सहकार्य, समन्वय र सम्बन्ध विस्तारमा पनि सहयोग पुग्ने जनाउँदै उनले यसबाट नेपाली उत्पादनको निर्यात वृद्धि गरी विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्ने उनले जानकारी दिए।

मेलामा काठमाडौँ उपत्यकालगायत सातै प्रदेशका विभिन्न जिल्लाबाट महिला उद्यमीले स्थानीय स्रोत–साधनबाट बनाइएका परम्परागत सीपमा आधारित उत्पादन प्रदर्शनीबाट खुसी लागेको उनले बताए। 

‘जुम्ला, हुम्ला, दार्चुला, डडेल्धुरा, ताप्लेजुङजस्ता विकट तथा दुर्गम जिल्लाबाट पनि उद्यमी महिला सहभागी भई आफ्ना उत्पादन प्रदर्शनी गर्न ल्याएको जानकारी पाउँदा मलाई खुसी लागेको छ’, प्रधानमन्त्री देउवाले भने। उनले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गरे। 

प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको अर्थतन्त्रमा आउन सक्ने चुनौतीलाई सामना गर्दै अत्यावश्यकीय वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई जारी राख्न सरकार र निजीले उचित समन्वय तथा सहकार्य गरेर अगाडि बढ्नुपर्ने खाँचो औंल्याए। 

महासंघका अध्यक्ष निरु रायमाझी (खत्री)ले स्थानीय कच्चा पदार्थ, सीप, प्रविधि र अनुभव प्रयोग गरी महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन, त्यस्ता उत्पादनको बजारीकरण गर्न सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्ने बताइन्।

‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं, स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गरौं’ मूल नारासहित सुरु भएको सो व्यापार मेलामा कृषि, हस्तकला, सेवा, चाडपर्व, खाद्यवस्तु, अन्तर्राष्ट्रिय उद्यमीको उत्पादनलगायत १०९ कक्ष राखिएका छन्। मेलामा प्राकृतिक रेशाजन्य उत्पादन, बाँसबाट बनेका सामग्री, स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादन गरिएका वस्तु तथा सेवाको प्रदर्शनीमा राखिएका छन्। 

मेलामा सातै प्रदेशका स्थानीय उत्पादन बिक्रीमा राखिएका छन्। ५५ हजारले अवलोकन गर्ने र २ करोडको कारोबार हुने अनुमान गरिएको मेला संयोजक शोभा ज्ञवालीले जानकारी दिइन्।–रासस

प्रकाशित: Aug 18, 2022| 16:50 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्