काठमाडौं– राष्ट्र बैंकले मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताको संख्या १ करोड ८३ लाख नाघेको विवरण सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म १ करोड ७९ लाख हाराहारी रहेको मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या असार मसान्तसम्म ४ लाख बढेर कुल १ करोड ८३ लाख ७ हजार २५५ पुगेको छ।
असार मसान्तसम्म मोबाइल बैंकिङको माध्यमबाट मात्रै कुल १ खर्ब ६३ अर्ब २५ करोड बराबरको वित्तीय कारोबार भएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो महिना यस्तो कारोबार १ खर्ब २१ अर्ब ९६ करोड बराबर भएको थियो।
समीक्षा अवधिमा इन्टरनेट बैंकिङ सेवाग्राहीको संख्या १६ लाख ८४ हजार, डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या क्रमशः १ करोड ८ लाख ५६ हजार र २ लाख ३८ हजार, प्रिपेड कार्ड प्रयोगकर्ताको संख्या १ लाख ८ हजार पुगेको विवरण राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
भुक्तानीका विभिन्न डिजिटल माध्यममा वालेट प्रयोगकर्ताको संख्या १ करोड ३६ लाख ७५ हजार र कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या ८ लाख ९६ हजार पुगेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।