काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकता विधेयकमा जवरजस्ती गर्न खोजिए राम्रो नहुने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नागरिकता जस्तो संवेदनशील विषयमा जनमत विभाजित गर्ने काम गर्न नहुने तर्क गरेका हुन्।
नागरिकताजस्तो संवेदनशील विषयलाई ‘हेड काउन्ट’को रुपमा नलिन उनको आग्रह छ। यसमा विवेक पुर्याएर आवश्यक निर्णय लिनुपन ज्ञवाली सुझाउछन्।
'विधेयकमा संसदीय नियमावली अनुसार संशोधन प्रस्ताव राख्न पाउने अधिकार सुनिश्चित गर्न सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु। जनताको प्रतिक्रियालाई समेत सुनेर सो विधेयकबारे सदनले आवश्यक निर्णय लिनुपर्छ,' उनले भने।
बहुमतको आधारमा विधेयक जबरजस्ती पारित गरेर पठाउने प्रयास गरिए त्यसको परिणाम राम्रो नहुने एमालेको चेतावनी छ। यसलाई सदनले गम्भीरतापूर्वक लिएर अधिकतम सदुपयोग गरोस् भन्ने एमालेको चाहना रहेको उनले बताए।