काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको एक विद्यालयमा छापा मारेको छ। सुर्खेतको विरेन्द्रनगर नगरपालिका- ६ स्थित श्री जन नमूना माध्यमिक विद्यालयमा बिना रसिद भर्नाका लागि भन्दै विद्यार्थीहरुबाट रकम असुल गरेको भन्ने सूचना आधारमा अख्तियारको टोलीले छापा मारेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारिले जानकारी दिए।
उनका अनुसार विद्यालयबाट दुई लाख ७६ हजार ६९० नगदसहित सोसँग सम्बन्धित कागजातहरु नियन्त्रणमा लिइएको छ।
विद्यालयद्वारा साउन २६ गते प्रकाशित कक्षा ११ को प्रवेश परीक्षाको नतिजामा उत्तीर्ण विद्यार्थीहरुबाट नेपालको संविधान, उच्च अदालत सुर्खेतको मिति २०७८ मंसिर १ गतेको परमादेश र मिति २०७८ जेठ २३ को अन्तरिम आदेश विपरित विद्यार्थीबाट भर्ना गर्दा रकम असुल गरेको र बिल नदिएको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिएको टोलीले छापा मारेको हो।
छापा मार्ने क्रममा उक्त विद्यालयबाट बिना रसिद बिद्यार्थीहरुबाट लिइएको दुई लाख ७६ हजार ६९० रुपैयाँ असुल गरिसकेको अवस्थामा सो रकम र सम्बन्धित कागजातहरु नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ।
साथै नेपाल सरकारले नि:शुल्क घोषणा गरेका अन्य सामुदायिक बिद्यालयहरुले समेत बिना रसिद विभिन्न नाममा विभिन्न कक्षाहरुमा शुल्क असुल गरेको भन्ने उजुरी उपर आयोगका कार्यालयहरु समेतबाट छानबिन भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए।