शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल इयूको हवाई प्रतिबन्धबाट छिट्टै हट्छ : पर्यटनमन्त्री श्रेष्ठ

नेपाल इयूको हवाई प्रतिबन्धबाट छिट्टै हट्छ : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपेली सङ्घ (इयू) को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन्।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपेली सङ्घ (इयू) को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन्। 

नेपाल हवाई यातायात नियन्त्रक सङ्घले आयोजना गरेको २१औँ वार्षिक साधारणसभामा उनले हवाई उड्डयन सुरक्षाको क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेकाले नेपाललाई इयुले सुरक्षा सूचीमा राखिरहन नपर्ने धारणा राखेका हुन्। 

मन्त्री श्रेष्ठले नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा ‘विश्वको औसतभन्दा राम्रो’ अवस्था देखिएकाले इयुले आफ्नो निर्णयबारे पुनर्विचार गर्ने बताए। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)को परीक्षणमा नेपालको उड्डयन सुरक्षा मापदण्ड कार्यान्वयनको औसत दर ७०.१ प्रतिशत देखिएको थियो। इयुको प्रतिनिधिमण्डल छिट्टै नेपाल आएर स्थलगत अनुगमन गरी हवाई प्रतिबन्ध सूचीसम्बन्धी निर्णय पुनर्विचार गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।  

इयुको हवाई प्रतिबन्ध सूचीमा रहनु नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय रहेको भन्दै मन्त्री श्रेष्ठले प्रतिबन्ध फुकुवासँगै नेपाली विमान युरोपका आकाशमा उड्न पाउने बताए।

सन् २०१३ यता इयुले हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको छ भने आइकाओले सन् २०१७ देखि प्रतिबन्ध फुकुवा गरेको छ। मन्त्री श्रेष्ठले हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन सरोकारवाला सबै जिम्मेवार हुनुपर्ने बताए। कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरलगायतलाई सम्मान गरिएको थियो।

प्रकाशित: Aug 17, 2022| 19:38 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्