काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोर विसर्जनमा अवरोध नगर्न सबैमा अपिल गरेका छन्। बुधबार फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो आह्वान गरेका हुन्।
पछिल्लो पटक धुनिवेँशीका दलहरूले आफूहरूको समस्या समाधान नगरे आगामी चुनाव नै बहिष्कार गर्ने चेतावनी दिएका थिए। यसपछि फोहोरको विषयमा सत्तारुढ दलले फोहोरी राजनीति गरेको भन्दै काठमाडौं महानगरका मेयरले आक्रोश पोखेपछि कांग्रेस महामन्त्री थापाले भने अवरोधका कार्यक्रममा सहभागी नहुने निर्देशन दिएको समेत उनले जानकारी गराएका छन्।
सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौँको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपिल गर्न चाहन्छु- कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौँ, संवाद र समीक्षा गरौँ, समाधान निकालौँ,' थापाको स्टाटसमा उल्लेख छ, 'नेपाली कांग्रेस पार्टीको तर्फबाट स्थानीय तहको नेतृत्वलाई कोही पनि साथी अवरोधमा संलग्न नहुन भनिसकिएको छ। पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस्। अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह छ- अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्नुहोस्।'
पछिल्ला केही दिनयता काठमाडौंको फोहोर उठ्न नसक्दा महामारी फैलन सक्ने सम्भावना भएको भन्दै सचेत रहन चिकित्सकहरूले सुझाव दिएका छन्।
फोहोर विसर्जनस्थलका पीडितको समस्या समाधानका लागि काठमाडौं महानगर प्रमुख बालेन्द्र साह लागिपरेको उनको भनाइ छ।
महानगरपालिकाको एकल क्षेत्राधिकार भन्दा बाहिरका विषयमा सहरी विकास मन्त्रालयले सम्झौता गरेकोले ती सबै सम्झौता पुरा गराउन आफूहरु लाग्ने प्रतिबद्धता समेत महामन्त्री थापाले जनाएका छन्।
'सरकारलाई दबाब दिने जिम्मेवारी हाम्रो हो। प्रधानमन्त्रीलाई भेटेर भनेका छौँ, साथै सहरी विकास मन्त्री उपत्यका बाहिर रहनुभएकाले उहाँ आउनासाथ एक छिन नछोडी काम गर्छौँ। केही समय लाग्ला तर सङ्घीय सरकारले तपाईँहरूसँग गरेको सम्झौता पुरा गराएर छाड्नेछौँ, प्रतिबद्धता पूरा गर्नेछौँ, गराउनेछौँ। हामी यस पटक तपाईँलाई निराश बनाउने छैनौँ,' थापाको स्टाटसमा लेखिएको छ, 'सम्झौता कार्यान्वयनमा कहाँ कहाँ समस्या भए, कहाँ कमजोरी भए समीक्षा गरौँ, सँगै मिलेर कार्यान्वयनका लागि दबाब दिऔँ, सबैले सहयोग गरौँ, समाधान निकालौँ।'