काठमाडौं- सत्तासीन दल नेपाली कांग्रेसले आफ्नै निर्णय लत्याएको छ। गत असार २७ देखि साउन २ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाबारे गरेको निर्णय अलपत्र परेको हो। समयमा महाधिवेशन नहुँदा म्याद समाप्त भएका भ्रातृसंस्थाको गठन र पूर्णता साउन मसान्तभित्र गरिसक्ने निर्णय बैठकले गरेको थियो। तर, साउन मसान्तभित्र भ्रातृसंस्थाका समितिले पूर्णता पाउन सकेनन्।
केन्द्रीय समितिले गरेको निर्णय नम्बर ४ मा भनिएको छ, 'अवधि समाप्त भएर गठन हुन बाँकी रहेका र पूर्णता प्राप्त नगरेका पार्टी आवद्ध भ्रातृ संघलाई यही २०७९ श्रावण मसान्तभित्र गठन र पूर्णता दिने।' तर साउन मसान्तभित्र सभापति शेरबहादुर देउवाले महिला संघको नेतृत्वमात्रै टुंगो लगाएका छन्। देउवाले साउन २६ गते महिला संघको अध्यक्षमा उषाकुमारी राउत (मिश्र)लाई नियुक्त गरे। त्यो बाहेक भ्रातृसंस्थाका समितिलाई पूर्णता दिने र गठन गर्न बाँकी रहेका भ्रातृसंस्थाको हकमा कांग्रेसले निर्णय गर्न सकेन।
दुई पटकको समयसीमा गुज्रियो
गत फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले म्याद गुज्रिएका १० वटा भ्रातृसंस्थाका केन्द्रीय समिति भंग गर्ने निर्णय गरेको थियो। सोही बैठकले फागुन मसान्तभित्र भंग गरिएका भ्रातृसंस्थाको नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरेको थियो। त्यसको जिम्मेवारी सभापति देउवालाई दिइएको थियो। तर त्यो अवधिमा देउवाले भ्रातृसंस्था बारे निर्णय गर्न सकेनन्। कार्यसम्पादन समितिले तोकेको समयसीमा गुजारेका देउवाले चैत ९ गते नेविसंघ र तरुण दलका अध्यक्ष चयन गरे। देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए।
लगत्तै आएको स्थानीय तह निर्वाचनमा पार्टी होमिँदा भ्रातृसंस्थाको एजेन्डा छायामा परेको थियो। कांग्रेस भ्रातृसंस्था रिक्त राखेरै स्थानीय तहको निर्वाचनमा होमिएको थियो। स्थानीय निर्वाचनपछि देउवाले किसान संघको अध्यक्षमा गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति संघको अध्यक्षमा ओमबहादुर थापा घर्तीलाई नियुक्त गरेका थिए।
भंग भएका १० मध्ये अहिलेसम्म ५ भ्रातृसंस्थाले मात्रै नेतृत्व पाएका छन्। नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ र आदिवासी जनजाति संघले अध्यक्ष पाउँदा नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल भूतपूर्व सैनिक संघ अझै नेतृत्वविहीन छन्। यी मध्ये कुनै पनि भ्रातृसंस्थाका समिति पूर्ण छैनन्। अहिलेसम्म भ्रातृसंस्थाका समिति पदाधिकारीसहितको हुने कि प्लेन समिति बनाउने भन्ने विषय नै टुंगो लागिसकेको छैन।
'निर्णय कार्यान्वयन हुन्छ'
म्याद गुज्रिएर भंग भएका भ्रातृसंस्थाको गठन र पूर्णता दिने सन्दर्भमा कांग्रेस आफैंले २ पटक म्याद गुजारिसकेको छ। मंसिर ४ गते तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीमा कांग्रेस छ। र निर्वाचनको छायामा भ्रातृसंस्थाको एजेन्डा परेको छ।
तर पार्टी पदाधिकारीहरु भने केन्द्रीय समितिको निर्णय चाँडै कार्यान्वयन हुने दाबी गर्छन्। सहमहामन्त्री भिष्मराज आङ्दम्बेले तोकिएको समयमा भ्रातृसंस्थाका समिति गठन गर्ने र पूर्णता दिने काम सम्पन्न नभए पनि तयारी भने भइरहेको बताए। 'केन्द्रीय समितिको निर्णय चाँडै कार्यान्वयन हुन्छ। साउन मसान्तभित्र काम सकिएन। त्यो सत्य हो। तर केही दिन अघि मात्रै महिला संघले नेतृत्व पायो। हामी आवश्यक वर्कआउट गरिरहेका छौं,' उनले भने।
उनले भ्रातृसंस्थाका समितिलाई पूर्णता दिएर निर्वाचन परिचालनमा खटाउनुपर्ने आवश्यकता रहेकाले यसमा विलम्ब नहुने तर्क गरे। 'निर्वाचन घोषणा भएपछि राजनीति त्यतै मोडिएको छ। अब चाँडोभन्दा चाँडो भ्रातृसंस्थाका समितिलाई पूर्णता दिएर निर्वाचन परिचालनमा खटाउने छौं,' उनले भने।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले साउन मसान्तभित्रै भ्रातृ संस्थाको काम सक्ने निर्णय भए पनि तयारी नपुगेका कारण हुन नसकेको बताए। उनले भने, ‘नाम कलेक्सन भइरहेको छ। अब चाँडै निर्णय गर्ने हो।’
भ्रातृसंस्थाका नेताहरु भन्छन्- भ्रातृ संस्था विना चुनावमा जाँदा कांग्रेस हतियारविहीन हुनेछ
पार्टीले निर्णय नलिँदा भ्रातृसंस्थाका नेताहरु भने निराश देखिन्छन्। उनीहरु निर्वाचनको मिति तोकिइसक्दा पनि भ्रातृसंस्थाले पूर्णता नपाउनु दुखद् भएको टिप्पणी गर्छन्। नेविसंघमा क्रियाशील रहेका एक नेता भन्छन्, 'चुनाव लागिसक्यो। यो बेला भ्रातृसंस्थाको जिम्मेवारी महत्वपूर्ण हुन्छ। पार्टीले निर्णय गर्दैन। वर्षौंदेखि सक्रिय रहेका हामी जस्ता कार्यकर्ता जिम्मेवारीविहिन छौं। यसले बढाउने निराशा नै हो।'
उनी अपूर्ण भ्रातृ संस्थालाई लिएर चुनावमा जाँदा कांग्रेस हतियारविहीन हुने तर्क गर्छन्। ' अपूर्ण भ्रातृ संगठन लिएर चुनावमा जानु भनेको हतियार र प्रशिक्षित सेना बिना चुनावमा जानुसरह हो,' ती नेता भन्छन्।
अर्का एक नेताले पनि कार्यकर्तामा देखिएको नैराश्यता कम गर्न पनि पार्टीले चाँडो भन्दा चाँडो निर्णय लिनुपर्ने बताए। 'कार्यकर्तामा देखिरहेको नैराश्यता कम गर्न, कांग्रेसमा भविष्य छ भनेर आभास दिलाउनका लागि पनि पार्टीले चाँडो निर्णय लिनुपर्छ,' ती नेताले भने, 'स्वतन्त्र भनिएकाहरुले दलिय व्यवस्थाप्रति फैलाइरहेको भ्रम चिर्न पार्टीले भ्रातृ संगठनलाई पूर्णता दिनुपर्छ।'