काठमाडौं- विगत १० महिनादेखि निरन्तर रूपमा घट्दो क्रममा रहेको विदेशी मुद्राको सञ्चितिमा सुधार देखिन थालेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार असार मसान्तमा नेपालसँग ७ महिनाको वस्त तथा सेवा आयात गर्नका लागि पुग्ने विदेशी मुद्रा सञ्चितिमा रहेको उल्लेख गरेको हो।
वैशाखमा ९ अर्ब २८ करोड डलरमा झरेको विदेशी मुद्राको सञ्चिति जेठमा ९ अर्ब ४५ करोड डलर पुगेको थियो। वैशाखको तुलनामा जेठ महिनामा विदेशी मुद्राको सञ्चिति करिब १७ करोड डलरले बढेको तथ्यांकमा उल्लेख छ। यसैगरी असार मसान्तसम्ममा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ५४ करोड डलर कायम भएको छ। जेठ तुलनामा यस्तो सञ्चिति ९ करोड डलरले बढेको राष्ट्र बैंकले जनाएको छ।
असार मसान्तसम्मको सञ्चितिले ७.८ महिनाको वस्तु तथा ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ। २०७८ असार मसान्तमा यस्तो सञ्चिति ११ अर्ब ७५ करोड रहेकोमा २०७९ असार मसान्तमा १८.९ प्रतिशतले कमी आई ९ अर्ब ५४ करोड कायम भएको छ।
असार महिनामा मात्रै रेमिट्यान्स १ खर्ब ४ अर्ब रुपैयाँ भित्रिएको छ। यसले पनि विदेशी मुद्राको सञ्चिति बढाउन मद्दत गरेको देखिन्छ। यसैगरी पर्यटकहरुको बढ्दो आवगमन, सरकारको विभिन्न वस्तुको आयातमा गरेको प्रतिवन्ध तथा कडाई, विद्युत निर्यात र आर्थिक वर्षको अन्त्यसम्म भएको २ खर्बको निर्यातले पनि भुक्तानी सन्तुलन कम गर्न मद्दत गरेको राष्ट्र बैंकले जनाएको छ।