काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले धरान उपमहानगरपालिकाको खानेपानी समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताएका छन्।
धरान उपमहानगरका मेयर हर्क साम्पाङसँग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा मन्त्री शर्माले आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले महानगरपालिकालाई सहयोग गर्ने आश्वासन दिए।
भेटमा मन्त्री शर्माले मेयर साम्पाङ र उनको टिमले धरानका जनताको खानेपानीको समस्या समाधान गर्न गरेको जनपरिचालनको उच्च प्रसंशा गरे। उनले भने, 'तपाईंले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निक्कै उदाहरणीय छ।' भेटमा मेयर साम्पाङले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताए।
उनले भने, 'तपाईंहरु हाम्रो अविभावक हो। जनताको यो समस्या समाधान गर्न आवश्यक सहयोग गरिदिनुहोला।' भेटमा धरान महानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघा पनि सहभागी थिए।